देश

तनावमा स्वर्णिम, क्रिस्चियन कनेक्सनको पर्दाफास, श्रीमतीमाथि समेत आरोप, हार्ने डर, रविको साथ खोजे (भिडियोसहित)


काठमाडौं— नेपाली कांग्रेस छोडेर कांग्रेसकै किल्ला तोड्दै उपनिर्वाचनमार्फत पहिलो पटक संसदको यात्रा तय गरेका डा. स्वर्णिम वाग्लेले यसपटकको निर्वाचनमा पनि तनहुँ–१ लाई नै रोजेका छन् । निर्वाचन आउन अब एक महिनाभन्दा कम समय बाँकी हुँदा उनी चुनावी अभियानमा व्यस्त छन् । तर, उनको व्यस्तता आफ्ना लागि भोट माग्नमा मात्रै सीमित छैन; राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति समेत रहेका कारण पार्टीको चुनावी घोषणापत्र लेख्ने जिम्मेवारी पनि उनकै काँधमा छ । यतिबेला वाग्ले घोषणापत्र लेखनमा भन्दा पनि चुनावको मुखमा सामाजिक सञ्जालमा आफूलाई ‘हिन्दूविरोधी’ करार गरिँदा हैरानीमा परेका छन् । उनको हैरानी यतिसम्म बढेको छ कि उजुरी लिएर साइबर ब्युरो नै पुग्नुपर्ने अवस्था सिर्जना भएको छ । विकिपिडियामा उल्लेख विवरणलाई सम्पादन गरेर ‘क्रिश्चियन धर्मप्रचारक’ को ट्याग लगाइएपछि तनहुँ–१ का उम्मेदवार वाग्लेले त्यसको खण्डन गर्दै पटक–पटक आफू पनि हिन्दू नै भएको स्पष्टीकरण दिँदै हिँड्नुपरेको छ । वाग्लेबारे विकिपिडिया पेजमा उनलाई क्रिश्चियन भएको उल्लेख गर्दै दुई दिनमा १३५ पटकभन्दा बढी संशोधन गरिएको थियो ।