देश

बालेन पत्नी सबिना फल्चामा पुगेर श्रीमानको प्रचार, धर्मको मुद्दाले स्वर्णिम हैरान, गगनलाई बाख्राले छोडेन (भिडियोसहित)


काठमाडौं— निर्वाचन नजिकिँदै जाँदा सामाजिक सञ्जाल राजनीतिक प्रचारको मुख्य अखडा बनेको छ । फेसबुक, टिकटक, युट्युब र एक्स (ट्विटर) जस्ता प्लेटफर्म खोल्नेबित्तिकै उम्मेदवारका पोस्टर, भिडियो, स्लोगन, मीम र प्रचार सामग्री देखिनु सामान्य भइसकेको छ । निर्वाचनका लागि परम्परागत प्रचार माध्यम विस्थापित हुँदै डिजिटल चौतारीले स्थान लिएको छ । सामाजिक सञ्जालमा भइरहेका प्रचार गतिविधि सूचना प्रवाहमा भन्दा पनि मतदाताको भावना प्रभावित पार्ने, भ्रम सिर्जना गर्ने र कृत्रिम लोकप्रियता देखाउने माध्यम बन्न थालेका छन् । नेपाली कांग्रेसका सभापति गगन थापा काठमाडौँ छोडेर सर्लाही झरेपछि तातेको चुनावी माहोलसँगै उनका विरुद्धका भिडियो सामग्रीहरू सामाजिक सञ्जालमा व्यापक छाइरहेका छन् । बाख्रा पालनको अनुदान खाएर नक्कली व्यवसाय देखाएको आरोप खेपिरहेका उनका बारेमा रास्वपा समर्थकहरूले बाख्रा र गगनलाई लक्षित गरी प्रतिकात्मक र व्यांग्यात्मक सामग्री बनाएर भाइरल गरिरहेका छन् । उनले बारम्बार यस विषयमा खण्डन गरे पनि त्यही विषयलाई जोडेर उनको विपक्षमा र रास्वपाको पक्षमा भिडियो सामग्री बनाउने र भाइरल गर्ने काम भइरहेका छन् ।