काठमाडौं— मुलुकमा कम्युनिस्ट पार्टीको भोट बढी भए पनि अरु दलले फाइदा लिने अवस्था र नयाँको उदयले पुनः वाम गठबन्धनको चर्चा सुरु भएको छ । विशेषतः ‘जेन जी’ आन्दोलनपछिको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीमा उभार नै आएको छ । त्यस्तै, गगन थापाको विद्रोहले कांग्रेस समेत सुध्रिएको सन्देश जाँदा अबको भिडन्त समेत यी दुई शक्तिबीच हुने अवस्था बन्दै छ । अर्कातर्फ, झापा–५ मा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले सकस थपिरहेका छन् । जहाँ यो पटक राष्ट्रिय प्रजातन्त्र पार्टीले साथ दिएको छैन भने कांग्रेसले आफ्नो मुख्य एजेन्डा नै निर्वाचन अघिको गठबन्धन नहुने विषयलाई बनाएको छ । यसले दोहोरो मारमा कम्युनिस्ट घटक र त्यसमा पनि एमाले पर्दा ओली गठबन्धनका लागि अग्रसर भएका हुन् । ओलीले नेकपाका दुई शीर्ष नेताहरू—संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधव कुमार नेपाललाई सिधै फोन गरेर चुनावी तालमेलको प्रस्ताव राखेका थिए । यो प्रस्तावमा प्रचण्ड समेत सकारात्मक देखिन्छन् भने उनका लागि यो अब बाध्यता समेत बन्दै छ । यता आफूले हारे निर्वाचनको परिणाम नस्वीकार्ने ओलीको बोली होस् या फागुन २१ को चुनाव निष्पक्ष हुँदैन भन्दै मिति सार्नका लागि अन्य दलका नेताहरूसँग गरिरहेको लबिङले होस्; यी सबै कारणले उनको हारको मानसिकता स्पष्ट हुँदा एमालेलाई गठबन्धनको आवश्यकता बढी रहेको समेत यसले उजागर गरेको छ ।
देश


प्रतिक्रिया