काठमाडौं— राजनीतिमा विद्रोह गर्दै आएका गगन थापा विद्रोहकै बलमा नेपाली कांग्रेसको सभापति बनेका छन् । चार दिनसम्म भृकुटीमण्डपमा चलेको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति चयन हुँदै गगनले मध्यरातमा शपथ लिए । बीपी र गणेशमानको रगत नभए पनि नसा–नसामा उनीहरूकै विचार बगेको बताउँदै आएका गगन अहिले विरासत खोस्ने लडाइँमा छन् । सभापति बन्ने दौडमा रहँदा पार्टीबाटै कारबाही भएपछि उनले देउवाकै शैलीमा पार्टी फुटाएर उनै देउवाको माला पहिरिए । ‘गर या मर’ को अवस्थामा रहेका गगनका लागि विद्रोहबाहेक अर्को विकल्प थिएन । राजनीतिक रूपमा आफूभन्दा जुनियर रवि लामिछाने र बालेन शाह निर्णायक शक्तिका रूपमा उदाउँदा विद्यार्थी जीवनदेखि नै राजनीतिमा होमिएका गगनलाई यसले थप प्रेरित गरेको देखिन्छ । सभापति र प्रधानमन्त्री बन्ने संकल्पमा रहेका गगनले अब एक पटक मात्र सांसदको निर्वाचन लड्ने घोषणा गरिसकेका छन् । पार्टीमा विद्रोह गर्दै विशेष महाधिवेशनबाट सभापति त बने, तर पार्टी नै फुटेको अवस्थामा अब उनी प्रधानमन्त्री कसरी बन्लान् ? नवनिर्वाचित केन्द्रीय कार्यसमितिको विवरण निर्वाचन आयोगले चाँडै अद्यावधिक गर्नेमा गगन समूह विश्वस्त छ ।
देश


प्रतिक्रिया