देश

गगन कांग्रेसको चक्रब्युँमा, देउवा–शेखर नै पार्टी फुटाउन बाध्य पार्दै, चन्द्र भण्डारी आत्तिए, प्रतिनिधि काठमाडौं आउँदै (भिडियोसहित)


काठमाडौं— महामन्त्रीहरू भागबन्डामा मिल्ने चर्चाका बीच नेपाली कांग्रेसमा विशेष महाधिवेशनको औपचारिक घोषणा भएको छ । विशेष महाधिवेशन पक्षधर प्रतिनिधिहरूले आगामी पुस २७ र २८ गते काठमाडौँमा विशेष महाधिवेशन आह्वान गरेका हुन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै हस्ताक्षरकर्ता महाधिवेशन प्रतिनिधिहरूले देशभरका प्रतिनिधिहरूलाई उपस्थितिका लागि औपचारिक आग्रहसमेत गरेका छन् । विज्ञप्तिमा उल्लेख भएअनुसार, १५औँ महाधिवेशन समयमै हुन नसकेपछि विशेष महाधिवेशन नै निर्विकल्प विकल्प बनेको हो । पुस २८ भित्र १५औँ महाधिवेशन सम्पन्न गर्ने पार्टीको अघिल्लो प्रतिबद्धता पूरा नभएको भन्दै उनीहरूले केन्द्रीय कार्यसम्पादन समितिले विशेष महाधिवेशनलाई असान्दर्भिक भन्नु विधानविपरीत भएको दाबी गरेका छन् । विशेष महाधिवेशनका लागि १८ वटा समिति गठन भई व्यवस्थापकीय कामहरू द्रुत गतिमा अघि बढिसकेका छन् । भृकुटीमण्डपको हल बुकिङ र महामन्त्रीद्वयको राजनीतिक दस्ताबेज तयारीले पार्टी फुटकै दिशातर्फ उन्मुख भएको परिदृश्य देखाउँछ । यस मोडमा महामन्त्री गगन थापा पछि हट्न सक्ने अवस्थामा देखिँदैनन् । आर्थिकदेखि भौतिक तयारीको दबाबले उनलाई वार कि पारको निर्णय लिनैपर्ने बाध्यता सिर्जना गरेको छ । यद्यपि, महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनलाई ‘संकल्प सम्मेलन’मा रूपान्तरण गरेर पार्टी विभाजन रोक्नुपर्ने प्रस्ताव अघि सारेका छन् । यता महामन्त्री थापा भने विधान कार्यान्वयन गर्दा पार्टी विभाजन नहुने तर्क गर्दै विशेष महाधिवेशनको कार्यादेश हलबाटै तय हुने बताउँछन् । यसले झट्ट हेर्दा नेपाली कांग्रेस विभाजनको सन्निकट पुगेको देखिन्छ ।