काठमाडौं— अमेरिकाको कुख्यात जेफ्री एपस्टिन ‘सेक्स स्क्यान्डल’ सँग सम्बन्धित मुद्दामा हालसम्मकै सबैभन्दा ठूलो खुलासा भएको छ । एपस्टिन फाइलहरू सार्वजनिक भएसँगै यस स्क्यान्डलमा जोडिएका ‘हाइप्रोफाइल’ व्यक्तिहरूको नाम बाहिर आएको हो । सार्वजनिक दस्ताबेजमा अमेरिकाका वर्तमान राष्ट्रपति, पूर्वराष्ट्रपति र वरिष्ठ न्यायमूर्तिदेखि विश्वका प्रभावशाली व्यापारी, राजनीतिक नेता र चर्चित कलाकारहरू समेत अछुतो रहन सकेका छैनन् । सार्वजनिक विवरण र तस्बिरहरूमा राष्ट्रपति डोनाल्ड ट्रम्प, पूर्वराष्ट्रपति बिल क्लिन्टन, अर्बपति बिल गेट्स, गुगलका सह–संस्थापक सर्गेई ब्रिन, फिल्ममेकर वुडी एलेन, दार्शनिक नोम चोम्स्की, ट्रम्पका पूर्वसल्लाहकार स्टिभ ब्यानन, पप स्टार माइकल ज्याक्सन, अभिनेता क्रिस टकर र बेलायतका प्रिन्स एन्ड्रयू जस्ता चर्चित व्यक्तित्वहरू रहेका छन् । लामो समयदेखि जेफ्री एपस्टिन र प्रभावशाली व्यक्तिहरूबीचको सम्बन्धबारे जनचासो उच्च रहँदै आएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, सुरुमा चार सेट र त्यसको केही घण्टापछि पाँचौँ सेट गरी कुल ३ हजार ५०० भन्दा बढी फाइलहरू सार्वजनिक गरिएका छन् । यसमा २.५ जीबीभन्दा बढी डाटा समावेश छ । यद्यपि, धेरैजसो तस्बिरहरू कुन स्थानमा खिचिएका हुन् भन्ने अझै स्पष्ट हुन सकेको छैन । दुई चरणमा खुलेका यी दस्तावेजहरूले अमेरिकी राजनीतिमा तरंग ल्याइदिएको छ ।
अन्तर्राष्ट्रिय


प्रतिक्रिया