देश

सभापति लड्दै गगन, शेखर–शशांक मिले, ‘सात भाइ’मा सिटौला र निधि अगाडि (भिडियोसहित)


काठमाडौं— महाधिवेशनको कार्यतालिका नै ल्याएर अघि बढेको नेपाली कांग्रेसमा आगामी नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ । जसको सुरुवात महामन्त्री गगन थापाले गर्दा उनी यो महाधिवेशनका लागि नेतृत्वलाई तयार पार्ने सर्वाधिक सक्रिय पात्र समेत हुन् । जहाँ जेन–जी आन्दोलनपछिको अवस्था, विशेष महाधिवेशनको पक्षमा आफूलाई नेताहरूले दिएको साथ र क्रियाशील सदस्यतामा धेरैभन्दा धेरै युवा समेटिने आशाले पनि उनी आफूलाई नेतृत्वमा कसैले छेक्न नसक्ने विश्वासमा देखिन्छन् । अर्थात्, विधानतः योग्यता पुगेका व्यक्तिलाई सहज रूपमा सदस्यता प्रदान गर्ने र कुनै पनि योग्य व्यक्तिलाई सदस्यताबाट वञ्चित नगर्ने व्यवस्थाले गगनलाई उत्साह थपेको छ । यद्यपि, आजको अवस्थामा कांग्रेसको सक्रिय सदस्यता लिन युवावर्ग उत्साहित होला वा त्यो वातावरण गगनको परिवर्तनकारी जार्गनले निर्माण गर्ला ? त्यो भने अर्को प्रश्न छ । किनभने, कांग्रेसमा करिब ९ लाख क्रियाशील सदस्य रहेकोमा वडा तहमा अहिलेसम्म ६ लाखले मात्र नवीकरण गरेका छन् । त्यस्तै, जेन–जीमा पुराना दलप्रति आकर्षण समेत देखिँदैन ।