काठमाडौं— “१६ वाम एक ठाम’ भन्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) अहिले प्रदेश–प्रदेश पुगिरहेको छ । १६ वटा कम्युनिस्ट दलका नेताहरू एउटै झन्डामुनि बसेर वामशक्तिहरू एक भएको सन्देश दिइरहेका छन् । तीन पूर्वप्रधानमन्त्री रहेको नेकपाले विभिन्न वाम घटकहरू एक ठाउँमा आएसँगै एकताको सन्देश दिने गरी सभाको आयोजना गरेको हो । सातवटै प्रदेशका मुख्य शहरमा एकता सभा गर्ने कार्यतालिका अनुसार मंसिर १२ गते शुक्रवार सुदूरपश्चिमको धनगढीबाट सुरु भएको अभियान अहिलेसम्म चार प्रदेशका चार शहरमा सम्पन्न भइसकेको छ । १३ गते लुम्बिनीको दाङस्थित देउखुरी, गण्डकीको पोखरामा १४ गते र १५ गते कोशीस्थित मोरङको विराटनगरमा एकता सभा सम्पन्न भएको छ । एकता सभाको पहिलो दिन डा. भीम रावलको गढ मानिने सुदूरपश्चिममा केही उत्साह छाए पनि त्यसपछिका सभाहरूमा भने क्रमशः जनसहभागितामा ह्रास आइरहेको छ । पोखरामा सडक छेकेर सभा गर्दा व्यापारीले ‘गरी खान देऊ’ भन्दै विरोध जनाए भने विराटनगरसम्म आइपुग्दा संयोजक प्रचण्डको भाषण सुन्न खाली कुर्सीहरू मात्रै बाँकी रहे ।
देश


प्रतिक्रिया