देश

प्रचण्डको बढ्दो फुर्ती, चुनावी क्षेत्र अब धादिङ कि नुवाकोट ?, १६ दलको एकता चुनावसम्म टिक्ला ? (भिडियोसहित)


काठमाडौँ— हतियार बिसाएर शान्तिको बाटो रोज्दै संसदीय राजनीतिमा प्रवेश गरेका नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको २०६४÷६५ तिर बेग्लै रापताप थियो । पहिलो संविधानसभाको निर्वाचनमा प्रत्यक्षतर्फको २४० सिटमा १२० सिट जितेर पहिलो पटक पहिलो दल बनेपछि माओवादी पार्टी र प्रचण्डको छुट्टै सान थियो । बेग्लै चहलपहल थियो । माओवादीले प्राप्त गरेको जनमतले त्यसबेला उसलाई देशको सशक्त र बलियो पार्टीको रुपमा दर्ज गरेको थियो भने जनताले समेत ठूलो आशा–भरोसा गरेका थिए । भारी जनमतका साथ पहिलो दल बनेको माओवादी जंगलबाट बाहिरिए लगत्तै सिधै सत्तामा पुग्यो । तर, सत्ता यात्रासँगै आफैँले गरेका बाचा र उद्देश्यलाई पूरा गर्न नसक्दा त्यसपछि विस्तारै माओवादी र प्रचण्डकै ओरालो यात्रा सुरु भयो । जसले गर्दा २०७९ सालको गत निर्वाचनमा कांग्रेससँग गठबन्धन गर्दा समेत तत्कालीन माओवादी केन्द्र ३२ सिटमा खुम्चिन पुग्यो । २०६४÷६५ मा देशकै ठूलो दलको नेता बनेका प्रचण्ड त्यसपछि आकार खुम्चिँदै जाँदा तेस्रो दलबाट कहिल्यै पहिलो र दोस्रो बन्न सकेनन् । पछिल्लो समय ‘जेनजी आन्दोलन’ पछि १३ दललाई समेटेर नेपाली कम्युनिस्ट पार्टी बनाएका प्रचण्डले फेरि आफ्नो पुरानै विरासत फर्काउने कसरत गरिरहेका छन् । आफ्नो रापताप बढेको सन्देश दिन बुधबार धादिङ पुगेका प्रचण्डको पक्षमा ठूलो जनलहर देखियो । तर आफ्नो क्रेज देखाउन उनले राम्रै जुक्ति लगाएका रहेछन् । त्यसका लागि धादिङ, चितवन, नुवाकोट र काठमाडौंबाट प्रचण्ड निकट कार्यकर्तालाई उतारिएको खुलेको छ ।