देश

NPL : टीयू ग्राउन्डमा थरिथरिका व्यापार, हेल्मेट कुर्नेदेखि बदाम बेच्नेसम्म, महिनामै लाख कमाइ !


काठमाडौं— नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका खेलहरु कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेका छन् । नेपालीका साथै विश्व विभिन्न देशको ध्यान तान्न सफल एनपीएलका खेल मैदानभित्रबाट हेर्दा जति रमाइलो छ, त्योभन्दा पनि मैदान बाहिरको दृश्य थप रोचक लाग्छन् । भित्र क्रिकेट चलिरहेका बेला मैदान बाहिर सयौंको संख्यामा साना व्यापारीहरुले छुट्टै माहोल बनाइरहेका हुन्छन् । बेलुकीको चिसो मौसम, त्यही मौकामा कसैले तातो चिया बेचिरहेका हुन्छन् त कसैले पानी, चाउचाउ, बिस्कुट लगायत बेचिरहेका भेटिन्छन् । यही भिडमा केहीलाई एनपीएलमा सहभागी टिमहरुका झण्डा र स्टिकर बेच्न भ्याई नभ्याइ भइरहेको हुन्छ । अझ कसैले त खेल अवधिभर हेलमेटको सुरक्षा गरिदिए वापत शुल्क लिने सेवा समेत दिइरहेका छन् ।