देश

भट्टाभट नयाँ दल ः कुलमान र हर्कको आश, २० थपिँदै, न नीति न संगठन, कसरी भिड्छन् कांग्रेस–एमालेसँग ? (भिडियोसहित)


काठमाडौं— नेपाली कांग्रेस, नेकपा एमाले जस्ता पुराना दलहरूले सात दशकभन्दा लामो समय राजनीतिलाई हाँक्दा पनि जनतामा निराशा बढ्दा त्यसले गत भदौ २३–२४ मा ‘जेन–जी विद्रोह’ को रूप लियो । विकल्प बनेर २०६४ सालको निर्वाचनबाट उदाएको माओवादी केन्द्र होस् वा २०७९ को निर्वाचनबाट विकल्पका रूपमा आएको राष्ट्रिय स्वतन्त्र पार्टी नै किन नहोस्, आगामी फागुन २१ को निर्वाचनका लागि पुराना दलहरू आफूलाई नयाँ बनाउन लागिपर्दा नयाँ दल खोल्नेको होड पनि त्यत्तिकै चलेको छ । अहिले निर्वाचन आयोगमा दिनहुँ दल दर्ताका लागि भीड देखिन्छ । ऊर्जामन्त्री कुलमान घिसिङदेखि हर्क साम्पाङसम्मका चर्चित व्यक्तिहरूले मात्र दल खोलेनन्, ‘बुलेटबाटै निकास खोज्छु’ भनेर जङ्गल पसेका नेत्रविक्रम चन्द विप्लवले समेत दल खोलेर ‘गुलाब’ चुनाव चिह्न लिँदै लोकतान्त्रिक अभ्यासलाई स्वीकारेका छन् । उनले आफ्नो पार्टी नयाँ गुण, सार्थकता, अठोट, विश्वास र अभियानसहित निर्वाचनमा होमिएको बताएका छन् ।