देश

एमालेको विरोधमा मधेशमा आगो बल्दै, मुख्यमन्त्री प्रकरणदेखि जेनजीसम्म, चुनाव भाँडिने अस्त्र बन्यो (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं— बिहीबार मधेश प्रदेशको बारामा राजनीतिक कार्यक्रमका लागि अघि बढेका नेकपा एमालेका नेताहरू विमानस्थलमै रोकिए । नेकपा (एमाले)ले आयोजना गर्न लागेको ‘मधेश जागरण’ कार्यक्रममा सहभागी हुन हिँडेका महासचिव शंकर पोखरेल, जनवर्गीय संगठनका इन्चार्ज भानुभक्त ढकाल र युवा संघका इन्चार्ज महेश बस्नेतले काठमाडौँ छोड्न पाएनन् । व्यङ्ग्यको भाषामा भन्नुपर्दा, ‘कसैको तागत भए गुन्डा आएर देखाऊ’ भन्दै धम्क्याउने बस्नेतलाई ‘जेन जी’ले ‘दम भए बारा आएर देखाऊ’ भनेजस्तै पारिदिए । मधेशमा मुख्यमन्त्री नियुक्ति लगायतको विरोधमा रहेका विभिन्न राजनीतिक दलहरूले विरोधका कार्यक्रम जारी राखेका थिए । तर, बुधबार एमाले शीर्ष तहका नेताहरू आउने भएपछि सिमरा विमानस्थल नै घेराउ गर्न ठूलो जनशक्ति पुगेपछि नेताहरू काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएका हुन् । सो क्रममा ‘जेन जी’ भनिने समूह र एमाले नेता कार्यकर्ताबीच झडपसमेत भयो भने सरकार कफ्र्यू नै लगाउन बाध्य भयो ।
निर्वाचनको मुखमा भएको यो घटनालाई नेपाली कांग्रेसदेखि नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीसम्मले संवेदनशील भनेका छन् । यसले निर्वाचन नहुने पक्का भएको एमालेले बताउँदा कांग्रेसले पनि त्यस्तै आशय व्यक्त गरेको छ । यता, रास्वपाले सिमरा घटना गम्भीर भएको बताएको छ । रास्वपा प्रवक्ता मनीष झाले निर्वाचनको माहोल बनाउन राजनीतिक दलले सार्वजनिक कार्यक्रम आयोजना गर्न पाउनुपर्ने बताएका छन् । त्यस्तै, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले यो अवस्थामा कसरी चुनाव हुन्छ भनेर प्रश्न गर्दा एमाले नेता महेश बस्नेतले सरकार र विपक्षी दलहरू आफूहरूको आन्दोलनको प्रभावबाट ‘आत्तिएको’ टिप्पणी गरेका छन् । अर्थात्, उनीहरू सबैले यसलाई सरकारको औचित्यमाथिको प्रश्न बनाएका छन् ।