देश

दुर्गा पक्रने त्यो बैठक, गृहमन्त्रीको सिग्नल, रिहा गर्न ज्ञानेन्द्रको अल्टिमेटम, तथानाम बोले, मुद्दा के ? (भिडियोसहित)


काठमाडौ— सोमबार राति देश मस्त निद्रामा थियो । घडीमा साढे १२ बजेको हुँदो हो, गहिरो निद्रामा रहेका दुर्गा प्रसाईंले मंसिर सात गते आन्दोलन गरेर देश ठप्प पारेको सपना देखिरहेका थिए होलान् । त्यही बेला काठमाडौँ प्रहरी परिसरको टोलीले प्रसाईंलाई छोप्यो । प्रसाईं ब्युँझिँदा भक्तपुरको निकोसेरास्थित उनको घर प्रहरीले घेरिसकेको थियो । गत वर्षको चैत १५ गते तीनकुनेमा हिंसा भड्काएपछि भागेर भारतको असाम पुगेका दुर्गालाई यसपटक भने प्रहरीले आन्दोलन गर्नुपूर्व नै पक्राउ गरेको छ । ‘रवि लामिछानेलाई रातारात किन पक्राउ गर्नु प¥यो ?’ भन्दै प्रश्न गर्ने सुशीला कार्की अहिले प्रधानमन्त्री भएकै बेला दुर्गा प्रसाईं मध्यराति पक्राउ परे ।
सुरक्षा संयन्त्रको बैठकमा पनि प्रसाईंलाई पक्राउ गर्ने निष्कर्ष थियो । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’का संयोजक प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा प्रहरीले ४ दिन म्याद थप गरेको छ । प्रसाईंले बोलेको अभिव्यक्ति सार्वजनिक शान्ति भंग गर्ने किसिमको थियो । उनले अराजक अभिव्यक्ति दिँदै आएका छन् । उनले सोमबार मात्रै देशै ठप्प पार्ने अराजक अभिव्यक्ति दिएका थिए ।