काठमाडौं— नेपाल विद्युत प्राधिकरणमा कमाएको चर्चाले मन्त्री पदसम्मको बाटो खोलेपछि कुलमान घिसिङले पार्टी खोलेका छन् । तर, यो नयाँ दल कसरी अगाडि बढ्छ भन्ने मूल प्रश्न उब्जिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा जाने बाटो बन्द भएपछि प्राधिकरणमा साथ दिने विश्वासी पात्रहरूलाई अगाडि सारेका घिसिङलाई आफ्नो मुख्य टिमबाहेक अरूले पत्याएनन् । सुरुमा जेनजी अगुवा सुदन गुरुङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा छाडेकी सुमना श्रेष्ठ पनि कुलमानकै दलमा आबद्ध हुने भनिए पनि अन्तिम घडीमा यीमध्ये कसैले साथ नदिएपछि घिसिङका सारथि अनुपकुमार उपाध्याय र जीतराम वाइबालाई अगाडि सारेर राजनीतिक यात्रा सुरु भएको छ । सुमना र सुदनहरू घिसिङले दर्ता गरेको दलमा समेटिन सकेनन् । यद्यपि, बालेनको टिमले कुलमानलाई नछोडेको वाइबाको दाबी छ । कुलमानले पार्टी खोलेपछि उनका सामु अवसर र चुनौती दुवै छन् । मतदाताहरूले नयाँ दल खोजेका छन्, ठूला दलहरू कमजोर बन्दै गएका छन्, र विकल्प भनिएको रास्वपामा पहिरो गएको छ । बालेनले पनि दल खोलेका छैनन् । यो अवसरको फाइदा उठाउन कुलमान सफल भए भने उनको राजनीतिक भविष्य राम्रो हुने देखिन्छ । घिसिङले आगामी निर्वाचनमा रास्वपा र जनार्दन शर्माको पार्टीसँग सहकार्य गर्न सक्ने आकलन गरिएको छ ।
राजनीति


प्रतिक्रिया