काठमाडौं— ‘जेनजी आन्दोलन’पछि चुनावी म्यान्डेट पाएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार बनेको तीन महिना पुग्न लागेको छ । फागुन २१ गते तोकिएको प्रतिनिधिसभा चुनावको मिति नजिकिँदै गर्दा सरकार निर्वाचनको वातावरण तयार पार्न सक्रिय बनेको छ । पछिल्ला दिनहरूमा प्रधानमन्त्री कार्की राजनीतिक दल र निर्वाचन आयोगसँगको बैठकमा केन्द्रित देखिएकी छन् । उनले निर्वाचन आयोगका पदाधिकारीलाई निर्देशन दिनेदेखि शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सक्रियता देखाएकी छन् । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको चुनावी प्रतिबद्धताले निष्पक्ष र भयरहित चुनाव गराउने सरकारी प्रयासलाई सहयोग मिलेको छ । नेकपा एमालेबाहेक अन्य राजनीतिक दलहरू निर्वाचनको पक्षमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त चुनावको तयारीमा समेत जुटिसकेको छ । यता, निर्वाचनको महत्त्वपूर्ण जिम्मेवारीमा रहेको आयोगले निरन्तर कामलाई तीव्रता दिएको छ । आयोगले निर्वाचन तयारीअन्तर्गतका ६० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको र हालसम्मको मूल्याङ्कनमा आउँदो फागुन २१ गते निर्वाचन सम्पन्न गर्न सकिने विश्वास प्रधानमन्त्रीलाई दिलाएको छ । आयोगमा नयाँ दल दर्ता र मतदाता नामावलीमा समावेश हुने क्रम पनि उत्साहजनक रहेको कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिएका छन् । विगतमा निर्वाचन बहिष्कार गरी बाधा–विरोध गर्ने समूह र दलहरूसमेत अहिले आयोगमा दर्ता भएर चुनावमा भाग लिन तत्पर रहेकाले पनि विगतमा भन्दा सहज वातावरण बन्दै गएको हुँदा तोकिएकै मितिमा निर्वाचन गराउन आयोग सक्षम रहेको भण्डारीले प्रतिबद्धता जनाएका छन् । आयोगले अनलाइन मतदाता नामावली सङ्कलन गर्दा राष्ट्रिय परिचयपत्रबाट बायोमेट्रिक लिने व्यवस्थाले विगतका झन्झट हटेको छ । साथै, विदेशमा रहेका नेपाली नागरिकले पनि अनलाइन फारम भर्नसक्ने व्यवस्था गरिएको छ भने मतदाताको सहजताका लागि अन्तर–जिल्ला मतदानको व्यवस्था गर्न आयोग तयारीमा जुटेको छ ।
देश


प्रतिक्रिया