काठमाडौं— देशव्यापी जेन–जी विद्रोहको आगोले राजनीतिक दियो झोसिँदा, त्यसको राप प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपासम्म पुगेको छ । गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनले प्रतिनिधि सभा विघटन भयो, सरकार ढल्यो र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । यही सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरिसकेको छ । तर, कांग्रेसभित्र भने निर्वाचन कि विघटित संसदको पुनस्र्थापना भन्ने विषयमा ठूलो मतभेद देखिएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा जारी केन्द्रीय कार्यसमिति बैठकमा यही मुद्दाले प्राथमिकता पाएको छ । एकातिर, सभापति शेरबहादुर देउवा सिंगापुरमा उपचाररत रहँदा पनि उनकै निर्देशनमा केही पूर्वसांसदहरूले संसद पुनस्र्थापनाको माग गर्दै हस्ताक्षर अभियान नै चलाएका छन् । अर्कोतिर, महामन्त्री गगन थापा लगायतका नेताहरूले निर्वाचन नै एकमात्र संवैधानिक बाटो भएको भन्दै सार्वजनिक रूपमै असन्तुष्टि जनाएका छन् । यो विवादले कांग्रेसलाई दुई कित्तामा बाँडेको छः ‘सांसद अधिकार’ खोज्ने पक्ष र ‘जेन–जी म्यान्डेट’ विरुद्ध नजाने पक्ष ।
राजनीति


प्रतिक्रिया