काठमाडौं— नेकपा एमालेबाट निष्कासनमा परेपछि ‘मातृभूमि जागरण अभियान नेपाल’ चलाइरहेका डा. भीम रावल अन्ततः नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् । नेकपा एमालेमा छँदा अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीमाथि निरन्तर प्रश्न उठाएका रावल, अन्ततः तीन दशकदेखि कम्युनिस्ट आन्दोलनको नेतृत्वमा रहेका प्रचण्डसँग एउटै मोर्चामा उभिएका हुन् । बुधबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजित पार्टी समायोजन कार्यक्रममा माधव–प्रचण्ड लगायतका नेताहरूसँग अङ्कमाल गर्दै उनी औपचारिक रूपमा पार्टीको हाई कमान्ड सदस्य रहने गरी सामेल भए । माओवाद परित्याग गरेका प्रचण्ड र ‘जनताको बहुदलीय जनवाद’ (जबज) को धार छोडेका माधव नेपाल लगायत १० वाम घटकबीच एकता भएपछि बनेको नेपाली कम्युनिस्ट पार्टीमा रावल पनि थपिएका छन् । पार्टी प्रवेशको औपचारिक घोषणा अघि पेरिसडाँडामा उनले माधव–प्रचण्डसँग ७–बुँदे सहमति पत्रमा हस्ताक्षर गरे, जसमा आगामी ६ महिनाभित्र राष्ट्रिय महाधिवेशन गर्ने र ‘जागरण अभियान’मा विभिन्न तहमा क्रियाशील व्यक्तिहरूलाई नेपाली कम्युनिस्ट पार्टीमा पनि सोही तहमा समायोजन गर्ने उल्लेख छ ।
राजनीति


प्रतिक्रिया