देश

भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुँदै

योहो संवाददाता

काठमाडौं— नेकपा एमालेबाट निस्कासनमा परेपछि ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ सुरु गरेका नेता डा. भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएका छन । रावल काठमाडौंमा आयोजना हुने औपचारिक कार्यक्रममार्फत् नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध हुन लागेको नेताहरुले बताएका छन् ।

दिउँसो २ बजे राष्ट्रिय सभा गृहमा कार्यक्रम राखिएको छ । कार्यक्रमलाई नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल र अभियानका संयोजक भीम रावलले सम्बोधन गर्ने तयारी छ ।

गत साता भृकुटीमण्डपमा आयोजित १० दलको एकता घोषणा समारोहमै रावललाई आबद्ध गराउने तयारी थियो । यद्यपि, थप छलफल आवश्यक भएको भन्दै रावल एकता घोषणा सभामा सहभागी थिएनन् । रावललाई पार्टीमा छैटौं बरियता दिने समझदारी छ ।

राष्ट्रियताको मुद्दालाई प्रमुखताको साथ उठाउने लगायतका समझदारी रहेको नेताहरूले बताएका छन् । ०००