काठमाडौं— नेपाली राजनीतिक वृत्तमा चतुर खेलाडीको परिचय बनाएका केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको सम्बन्ध चाटाचाटदेखि बाझाबाझसम्मको छ । शत्रुता होस् या मित्रता नै किन नहोस्, यी दुई पात्र सधैँ चर्चामा रहने गर्छन् । ओली र प्रचण्डको सम्बन्धमा कहिले आत्मीयता देखिन्छ त कहिले चर्को द्वन्द्व । उमेरले ३ वर्ष मात्र फरक रहेका यी दुईले राजनीतिमा झन्डै ४ दशक बिताएका भए पनि करिब डेढ दशकदेखि मात्र सम्बन्ध स्थापित भएको हो । एमाले र माओवादी पार्टी मिलाएर नेकपा बनाउँदा ‘एउटै विमानका दुई पाइलट’ भन्दै एकले अर्काको प्रशंसा खुबै गरे । तर, गन्तव्यमा पुग्न नपाउँदै विमान बीचमै दुर्घटना हुँदा नेकपा तीन टुक्रा भयो । विमानका असफल चालक ओली र प्रचण्डबीच त्यसअघि र त्यसपछि निरन्तर आरोप–प्रत्यारोप र निरन्तर सत्ता सहकार्य भइरह्यो । २०७९ को आम निर्वाचनपछि मात्रै यी दुईबीच दुईपटक सत्ता सहकार्यको सम्बन्ध र दुईपटक सत्तापक्ष र विपक्षको सम्बन्ध बन्यो । सत्ता सहकार्य गर्दा बालकोटको बार्दलीबाट स्वर्ग र नर्क सँगै जाने वाचा गरे, तर कुरा नमिल्दा अगाडिबाट मुसारेर पछाडिबाट छुरा बोकी एकअर्काको मन रेट्न समेत तयार भए ।
देश


प्रतिक्रिया