देश

दल रिझाउन कुदे जेनजीका मन्त्री, ओमप्रकाश दैलोमा, खरेल फकाउँदै, मुख नहेरी कसरी बस्लिन् सुशीला ? (भिडियोसहित)


काठमाडौं— सरकार र पुराना राजनीतिक दलहरूबीचको सम्बन्ध हाल पानी बाराबारको अवस्थामा छ । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख राजनीतिक दलका शीर्ष तीन नेताको अनुहार हेर्ने मन नभएको र संवाद नगर्ने अडान लिइरहँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले भेटका लागि गुन्डुमा आउन प्रधानमन्त्रीलाई निम्तो दिए । वर्तमान प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीबीच दोहोरी चल्दै गर्दा सम्बन्ध सुधार भन्दा पनि तिक्तता झनै बढाएको छ । तर, राज्यका संरचना सञ्चालन गर्नदेखि निर्वाचन गतिविधि अगाडि बढाउनुपर्ने बाध्यताका कारण आन्दोलनको दुई महिना बितेपछि सरकार र दलबीच विस्तारै सम्बन्ध सुधारको प्रयास हुन थालेको छ । यसमा राजनीतिक दलका नेताहरुले नै सरकारमाथि दबाब बढाउँदै लगेका छन् । प्रधानमन्त्री कार्कीले पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’को अनुहार हेर्न मन नभएको र आफूले संवाद नगर्ने बताए पनि दोस्रो तहका नेतासँग भने अनौपचारिक तथा औपचारिक छलफल अघि बढाएकी छन् । नयाँ सरकार बनेपछि एकपछि अर्को गर्दै सांसदहरूको सेवा–सुविधा काटेको विषयमा दलहरू असन्तुष्ट छन् । नेकपा (एमाले)का अध्यक्ष ओलीले राजनीतिक दलका नेताहरूको मुखसमेत हेर्न नचाहने प्रधानमन्त्रीले तोकिएको समयमा निर्वाचन गराउनेमा आशङ्का रहेको प्रतिक्रिया दिएका छन् । उनले अदालतमा आगो लगाउनेहरूबाट बनेको सरकारले निरन्तर रूपमा असंवैधानिक कार्य गरिरहेको आरोपसमेत लगाएका छन् ।