देश

आन्दोलन चर्काएर सदन ब्यूँत्याउने ओली नीति, कांग्रेसको मौन साथ, शीतलनिवासलाई पनि ललकारे (भिडियोसहित)


काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रिपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेपछि दलहरु पुनस्र्थापनाको पक्षमा छन् । देखिने गरी अग्रपंत्तिमा चाहिँ नेकपा एमाले छ । त्यसै अन्तरगत एमालेले शनिबार मात्रै देशभरका ७५३ स्थानीय तहका ६ हजारभन्दा बढी वडामा जन भेला गरेको छ । गएको शनिबार भक्तपुरको गुण्डुमा बसेको एमाले सचिवालय बैठकले संसद् पुनस्र्थापना,संविधानको रक्षा र लोकतन्त्रको जगेर्नाका लागि भन्दै जनभेला र प्रदर्शन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार एमालेले कात्तिक २२ गते वडा भेला सम्पन्न गरेको हो भने अब संसद् पुनस्र्थापनाको जनदबाव दिन २५ गते पालिका भेला, २० गते जिल्लामा जनसभा र मंसिर ६ गते काठमाडौँमा बृहत् जनसभा गर्ने तयारीमा छ । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा अदालतमा नै भए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् पुनःस्थापना अदालतले नगरेको खण्डमा राष्ट्रपतिले नै गर्नु पर्ने जिकिर गरेका छन् । राष्ट्रपति आफैले असंवैधानिक ढङ्गले प्रतिनिधि सभा विघटन गरेकाले संविधानको संरक्षक र पालक दुवै राष्ट्रपति नै भए हुँदा पुनस्र्थापना पनि राष्ट्रपतिले नै गर्नुको विकल्प नरहेको उनको तर्क छ ।