देश

भट्टाभट खुल्दै दल ः हर्कसहित तीन खुले, २० लाइनमा, अझै अलमलमा बालेन–सुमना (भिडियोसहित)


काठमाडौं— जेनजी आन्दोलनपछि चर्चित अनुहार र सामाजिक अभियन्ताका नाममा पार्टी खुल्ने क्रम तीव्र छ । अझ पुराना दलहरुको विकल्पमा निर्णायक शक्ति बनाउनुपर्ने उद्देश्यसहित जेनजी आन्दोलनको स्प्रीट र नयाँ पुस्ता तान्ने घोषणासहितका पार्टीमा बढी जोड छ । निर्वाचन आयोगको तथ्यांक हेर्ने हो भने २३ दल दर्ताका लागि परेका निवेदन दर्ता प्रकृयामा छन् । यसमध्ये तीन दलले प्रमाणपत्र पाइसकेका छन् । ११ दल दर्ताका लागि परेका निवेदनमा अध्ययन भइरहेको छ । यी दल जेनी आन्दोलनपछि निवेदन परेका हुन् । त्यसअघि नै निवेदन दिएका ९ दल पनि दर्ता प्रकृयामै छन् । अधिवक्ता सुरेन्द्र भण्डारीले भने दल खेल्न दिएको निवेदन खारेज गर्न अर्को निवेदन दिएका छन् । अहिलेसम्म केशव बहादुर थापा मगर नेतृत्वको राष्ट्रिय जनमुक्ति पार्टी, सीके राउत नेतृत्वको जनमतबाट अलगिएका दीपक साह नेतृत्वको जनस्वराज र धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्र्रम संस्कृति पार्टीले निर्वाचन आयोगमा दर्ता भएसँगै नेपालमा हालसम्म १२५ वटा दल दर्ता भएका छन् ।