राजनीति

कांग्रेसमा रमिता, सानेपामा ताल्चा, होटल र पार्टी प्यालेसमा नेता, भाँड्भैलो मिलाउन देउवाकै खोजी (भिडियोसहित)


काठमाडौं— पहिले पार्टीको महाधिवेशन कि प्रतिनिधिसभाको निर्वाचन ? नेपाली कांग्रेसभित्र अहिले यही प्रश्नले महासंग्राम मच्चाएको छ । यही विवादका कारण कांग्रेसको केन्द्रीय समिति बैठक बस्न सकेको छैन भने पार्टी गुटगत भेलाहरूमा अल्झिएको छ । १५ औँ महाधिवेशनको कार्यतालिकामा सहमति जुट्न नसकेपछि कांग्रेसभित्र अहिले गुटगत राजनीतिसँगै गुटको भेलाले तिव्रता पाएको छ । केही दिनदेखि निरन्तर स्थगित हुँदै आएको केन्द्रीय समिति बैठकलाई बन्धक बनाएर संस्थापन र इतर पक्षका नेताहरु गुटगत भेलाका लागि होटल र पार्टी प्यालेस चहार्न थालेका छन् । केन्द्रीय समिति बैठक महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बहिष्कार गर्ने चेतावनी दिएपछि अनिश्चित बनेको छ । यस्तो अवस्थामा पार्टीको आधिकारिक थलोबाट लोकतान्त्रिक ढंगले समाधान खोज्नुको सट्टा नेताहरू होटल र पार्टी प्यालेसमा गुटगत भेला गरेर समाधान खोज्न थालेका छन् । ‘जेन–जी’ आन्दोलनपछि सभापति शेरबहादुर देउवाले कार्यवाहक तोक्दै तत्काललाई पार्टीबाट विश्राम लिएपछि कांग्रेसमा भाँडभैलो मच्चिएको छ । पार्टी सुदृढीकरणको बाटोमा लागेका नेता डा. शेखर कोइराला, महामन्त्रीद्वय थापा र शर्मा लगायतका नेताहरूले आगामी मंसिरभित्र नियमित महाधिवेशन वा ५४ प्रतिशत हस्ताक्षरको बलमा विशेष महाधिवेशनमा जान दबाब बढाइरहेका छन् । असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा देउवाले पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिँदै समयमै महाधिवेशन हुने बताए पनि अहिलेसम्म सहमति जुट्न नसक्दा टुङ्गो लाग्न सकेको छैन । महामन्त्री थापाले बिहीबारको केन्द्रीय समिति बैठक छाडेर हिँडेपछि, कात्तिक १४ गते डा. शेखर कोइरालाले आफ्नो समूहका पदाधिकारीहरूसँग विशालनगरस्थित आफ्नै सम्पर्क कार्यालयमा छलफल गरेका थिए । उक्त बैठकमा महामन्त्रीद्वय थापा र शर्मा, उपसभापति धनराज गुरुङसहित सहमहामन्त्रीहरू जीवन परियार र बद्री पाण्डे सहभागी थिए, जहाँ नियमित महाधिवेशनको कार्यतालिका ल्याउनेबारे छलफल भएको थियो । यो बैठक लगत्तै महामन्त्रीद्वयले पुस १६ गते नियमित महाधिवेशन गर्ने गरी तयार पारेको नयाँ कार्यतालिकाबारे कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई जानकारी गराएका छन् । यता, सोमबार संस्थापन पक्षीय नेताहरुले नयाँ बानेश्वरस्थित एक ब्याङकेटमा भेला आयोजना गरे । भेलामा सहभागी नेताहरुले पार्टीको आन्तरिक जीवनलाई बलियो बनाउन महाधिवेशनको मिति तोकेर अगाडि बढ्नु पर्नेमा जोड दिएका छन् ।