राजनीति

गगन–विश्वको अडानले कांग्रेसका नेता हायलकायल, चुनावमा टिकट बाँड्ने खेल, महाधिवेशन टार्ने झेल (भिडियोसहित)


काठमाडौं— जतिजति निर्वाचनको मिति घर्किंदै गएको छ, नेपाली कांग्रेसभित्रको विवाद पनि त्यतिकै पेचिलो बन्दै गएको छ । तर, कांग्रेसमा देखिएको यो विवाद आसन्न प्रतिनिधिसभाको चुनावलाई लिएर भन्दा पनि पार्टी महाधिवेशनको मितिलाई लिएर चर्किएको हो । सरकारले फागुन २१ गतेका लागि तोकेको चुनावअघि नै पार्टीको महाधिवेशन गर्ने वा चुनावपछि मात्रै पार्टी नेतृत्व छान्ने भन्ने विषयको विवाद उत्कर्षमा पुगेर सुल्झिनुको साटो झनै बल्झिरहेको छ । यसको पछिल्लो दृश्य आइतबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा देखियो । पार्टीभित्र गुटगत राजनीति हाबी भएको भन्दै ‘कांग्रेस सुधार अभियान’ले कार्यालयको सुरक्षा घेरा तोडेर प्रदर्शन गर्नुका साथै पार्टी मुख्यालयको गेटमा ताला लगाइदियो । उनीहरूले नियमित महाधिवेशन र युवाको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने मागसहित नाराबाजी गरेका थिए ।

खासमा आइतबार कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने तय भएको थियो । बैठकमा पार्टीको १५औँ महाधिवेशनको मिति तोक्नेसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची थियो । तर, महाधिवेशनको मितिबारे संस्थापन र इतर पक्षका नेताहरूबीच सहमति जुट्न नसकेपछि बैठक स्थगित गरियो । यसअघि कार्यसम्पादन समितिमा सहमति जुटाएर मात्र प्रस्ताव केन्द्रीय समितिमा लैजाने योजना थियो । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विभिन्न गुटका नेता तथा पदाधिकारीसँग बैठक गरे पनि समस्या समाधान गर्न सकेका छैनन् । शनिबार सानेपामा बसेको पदाधिकारी बैठकले पनि सहमतिको प्रयास गरेको थियो, तर समस्या समाधानको बाटो पहिल्याउन सकेन ।