राजनीति

गगन–विश्वको अडानले कांग्रेसका नेता हायलकायल, चुनावमा टिकट बाँड्ने खेल, महाधिवेशन टार्ने झेल (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं— जतिजति निर्वाचनको मिति घर्किंदै गएको छ, नेपाली कांग्रेसभित्रको विवाद पनि त्यतिकै पेचिलो बन्दै गएको छ । तर, कांग्रेसमा देखिएको यो विवाद आसन्न प्रतिनिधिसभाको चुनावलाई लिएर भन्दा पनि पार्टी महाधिवेशनको मितिलाई लिएर चर्किएको हो । सरकारले फागुन २१ गतेका लागि तोकेको चुनावअघि नै पार्टीको महाधिवेशन गर्ने वा चुनावपछि मात्रै पार्टी नेतृत्व छान्ने भन्ने विषयको विवाद उत्कर्षमा पुगेर सुल्झिनुको साटो झनै बल्झिरहेको छ । यसको पछिल्लो दृश्य आइतबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा देखियो । पार्टीभित्र गुटगत राजनीति हाबी भएको भन्दै ‘कांग्रेस सुधार अभियान’ले कार्यालयको सुरक्षा घेरा तोडेर प्रदर्शन गर्नुका साथै पार्टी मुख्यालयको गेटमा ताला लगाइदियो । उनीहरूले नियमित महाधिवेशन र युवाको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने मागसहित नाराबाजी गरेका थिए ।

खासमा आइतबार कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने तय भएको थियो । बैठकमा पार्टीको १५औँ महाधिवेशनको मिति तोक्नेसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची थियो । तर, महाधिवेशनको मितिबारे संस्थापन र इतर पक्षका नेताहरूबीच सहमति जुट्न नसकेपछि बैठक स्थगित गरियो । यसअघि कार्यसम्पादन समितिमा सहमति जुटाएर मात्र प्रस्ताव केन्द्रीय समितिमा लैजाने योजना थियो । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विभिन्न गुटका नेता तथा पदाधिकारीसँग बैठक गरे पनि समस्या समाधान गर्न सकेका छैनन् । शनिबार सानेपामा बसेको पदाधिकारी बैठकले पनि सहमतिको प्रयास गरेको थियो, तर समस्या समाधानको बाटो पहिल्याउन सकेन ।