काठमाडौं— नेकपा (माओवादी केन्द्र) भित्र संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता जनार्दन शर्माबीचको विवाद अहिले वारपारको अवस्थामा पुगेको छ । प्रचण्डले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी र अन्य कम्युनिस्ट घटकहरूसँग पार्टी एकता गर्ने घोषणा गरेसँगै शर्माले पार्टी बैठक बहिष्कार गर्दै पार्टी फुटाउनेसम्मको चेतावनी दिएका छन् । प्रचण्ड र शर्माबीचको विवाद केवल दुई व्यक्तिको टकराव मात्र होइन, यो संस्थागत लोकतन्त्र र व्यक्तिमुखी नेतृत्वबीचको सङ्घर्षका रूपमा समेत देखिएको छ । प्रचण्ड अझै आफूलाई पार्टीका लागि अनिवार्य ठानिरहेका छन् भने शर्मासहितको नयाँ पुस्ताले संस्थागत विधिको माग गरिरहेको छ । माओवादी पार्टीमा विभाजन कुनै नौलो विषय होइन । ‘राज्यसत्ता बन्दुकको नालबाट जन्मिन्छ’ भन्ने दर्शनलाई अँगाल्दै २०५२ फागुन १ गतेदेखि सशस्त्र सङ्घर्ष सुरु गर्दा पार्टीको नाम नेकपा (एकता केन्द्र) थियो । सशस्त्र युद्धका १० वर्षसम्म माओवादीभित्र अन्तरसङ्घर्ष भए पनि पार्टी एकताबद्ध नै रह्यो । तर, एकता केन्द्रदेखि माओवादी केन्द्रसम्म आइपुग्दा अहिले मूल माओवादी छिन्नभिन्न हुँदै १० भँगालोमा विभाजित भइसकेको छ । २०४५ सालदेखि पुष्पकमल दाहालको नेतृत्वमा रहेको पार्टी औपचारिक रूपमा २०६९ सालमा वरिष्ठ उपाध्यक्ष मोहन वैद्य पक्षले विद्रोह गरेपछि विभाजनको शृङ्खला सुरु भएको थियो । अब बढ्दो असन्तुष्टिका कारण जनार्दन शर्माले पार्टी फुटाएमा माओवादी ११ टुक्रामा विभाजित हुनेछ । आगामी मङ्सिरमा हुने महाधिवेशनबाट ३६ वर्षदेखि नेतृत्वमा रहँदै आएका प्रचण्डलाई पन्छाउँदै नेतृत्व हत्याउने दाउमा शर्मा थिए । तर, प्रचण्डले माधव नेपाललाई भित्र्याएर पार्टीमा आफ्नो शक्ति थप सुदृढ गर्न खोजेपछि जनार्दनको स्वप्निल सपनामाथि चिसो पानी खन्याइएको छ, जसले उनलाई थप आक्रामक बनाएको छ ।
राजनीति


प्रतिक्रिया