काठमाडौं— ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा भर्ना भएकी एक सुत्केरीको मृत्युपछि सोमबार दिनभर स्थिति तनावपूर्ण बन्न पुग्यो । चिकित्सकको लापरबाही र गैरजिम्मेवारीका कारण सुत्केरीले ज्यान गुमाएको भन्दै आफन्त तथा पीडित पक्ष प्रदर्शनमा उत्रिएको हो । हिँडडुल गर्न सक्ने सामान्य अवस्थामा अस्पताल भर्ना भएकी खोटाङ, हलेसी तुवाचुङ नगरपालिका–९ की ३४ वर्षीया मिनाश्री राईको गत शुक्रबार राति मृत्यु भएको थियो । मृतकका आफन्तहरूले अस्पतालको गम्भीर लापरबाहीकै कारण उनको ज्यान गएको आरोप लगाउँदै निरन्तर प्रदर्शन गरिरहेका छन् । आन्दोलनरत पक्षले आइतबार किष्ट अस्पतालको इमर्जेन्सी भवनमा ढुंगामुढा गरी तोडफोड गरेको थियो । त्यसपछि पनि वार्ताको वातावरण नबनेको भन्दै सोमबार आक्रोशित समूहले अस्पताल परिसरमा प्रवेश गरेर तोडफोडमा उत्रिएपछि प्रहरीसँग झडपको स्थिति सिर्जना भएको हो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गर्दा केही प्रदर्शनकारी घाइतेसमेत भएका छन् ।


प्रतिक्रिया