देश

फेरि हौसिए दुर्गा, व्यवस्था फाल्ने आन्दोलन, गृहमन्त्री किन डराए ? आन्दोलन चर्काएर फेरि भाग्ने ?


काठमाडौं— चर्चा र विवादमा आइरहने दुर्गा प्रसाईं गत वर्षको चैतमा भएको राजावादी आन्दोलनपछि फेरि सक्रिय हुन थालेका छन् । चैत १५ मा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि भागेर भारत पुगेका उनी चैत २८ गते पूर्वी नेपालको सीमावर्ती क्षेत्रबाट पक्राउ परेका थिए । राजावादी आन्दोलनसँग जोडिएको मुद्दा र बैंकिङ कसुर दुवैमा उनलाई उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएसँगै गत साउनमा रिहा भएका थिए । त्यसयता निष्क्रिय जस्तै रहेका प्रसाईं जेनजी आन्दोलनपछि भने एकाएक सक्रिय देखिएका छन् । कहिले केपी शर्मा ओली त कहिले पुष्पकमल दाहाल प्रचण्डसँग निकट रहेर राजनीतिमा होमिएका उनी राजावादी हुँदै अहिले राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियानलाई अगाडि बढाइरहेका छन् । महाभियानको नाममा लघुवित्त ऋणीहरूको ऋण मिनाहादेखि राजतन्त्र फर्काउनेसम्मका मुद्दा बोकेर हिँडेका छन् । तीनकुने घटनापछि केही मत्थर भएका प्रसाई, ‘जेन–जी’ आन्दोलनपछि अन्तरिम सरकार गठन प्रक्रियामा नेपाली सेनाले भेट्न बोलाएपछि झनै हौसिएका छन् । प्रसाईंलाई सेनाले किन बोलायो भन्ने विषय अझै रहस्यकै गर्भमा छ । उक्त भेटमा के भयो भनेर हालसम्म न प्रसाईंले बोलेका छन्, न त सेनाले नै केही खुलाएको छ । हाल उनी अन्तरिम सरकारलाई ‘एनजीओले बनाएको’ र ‘जेन–जी’ आन्दोलनकारीलाई ‘विदेशी एजेन्ट’ भन्दै पुनः सडक तताउने दाउमा छन् । यही क्रममा उनले आइतबार पत्रकार सम्मेलन नै गरेर आफ्ना धारणा सार्वजनिक गरे । उनले विभिन्न कार्यक्रममा विदेशी शक्तिको ‘ग्रान्ड डिजाइन’ अन्तर्गत देशलाई सुनियोजित रूपमा कमजोर बनाइएको दाबी गर्दै आएका छन् ।