देश

बालुवाटारमा जेनजीको आतंक, राजा माग्नेदेखि बारबराको हिसाब खोज्नेसम्म, दललाई सुदनको ‘च्यालेन्ज’ (भिडियोसहित)


काठमाडौं— जेनजी विद्रोहले पुराना राजनीतिक दलहरूको सत्ता ढालेको ४४ दिन पूरा भएको छ । सम्भवतः विश्वकै नौलो मानिएको यो विद्रोहले २७ घण्टामै सत्तापलट गरेको थियो । ३६ वर्षदेखि राज्यसत्तामा रजाइँ गरिरहेका पुराना दलका नेताहरूले आफ्नो सत्ता ढल्ने कल्पनासमेत गरेका थिएनन् । तर, उनीहरूले सत्ता छाड्नुपर्ने दिन मात्र आएन, अब सुध्रिनुपर्ने चर्को दबाबसमेत बढिरहेको छ । सत्ता ढालेको ४४ दिनसम्म आइपुग्दा जेनजीहरूले आफ्ना माग छाडेका छैनन् । उनीहरूले अन्तरिम सरकार र राजनीतिक दलहरूमाथि निरन्तर दबाब बढाउँदै लगेका छन् । कतै युवाहरूको बगेको रगत खेर जाने पो हो कि भन्ने चिन्ता जेनजीहरूमा छ । अस्पतालको शय्याबाट, बालुवाटारको गेटबाट र माइतीघरबाट जेनजीहरूले सरकार र दलहरूमाथि दबाब कायम राखेका छन् । बिहीबार तिहारको मुख्य दिन भाइटीका, सबैले उल्लासका साथ मनाइरहँदा जेनजी पुस्ताले भने शहीदहरूको रगत खेर नजाओस् भन्दै माइतीघरबाट सरकारलाई खबरदारी गरेका छन् ।