समाचार

नेपाल सम्बतको नयाँ पात्रो ११४६ आजबाट सुरू


काठमाडौं— नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने नेपाल सम्बतको नयाँ पात्रो ११४६ आजबाट सुरू भएको छ । राष्ट्रिय विभूति शंखधर साःख्वाले विक्रम सम्बत ९३७ मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्बतको सुरूआत गरेका थिए । नेपाल सम्बतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्बतको मान्यता पाएको बताईन्छ । २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि नै नेपाल सम्बतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो ।

नेपाल सम्बतलाई नयाँ वर्षका रूपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर लगायत क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले विशेष रूपमा मनाउने गर्छन् । गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक सम्बतसमेत चलाएको कार्यको उच्च मूल्यांकन गर्दै २०५६ सालको नयाँ वर्षका दिन तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साःख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नुभएको थियो । २०६५ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सम्बतले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो ।

काठमाडौं, भक्तपुर र ललितपुरमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरिएको छ । तीन वटै कार्यक्रमलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने तयारी छ ।