काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारीबारे आज सात राजनीतिक दलका नेतासँग छलफल गर्दै छिन । कार्कीले गत निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त सात दलका २–२ जना प्रतिनिधिलाई छलफलका लागि बोलाएकी हुन । आज अपराह्न ४ बजेका लागि छलफल तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचन तयारीबारे प्रधानमन्त्रीले विभिन्न दलका नेतासँग अलग–अलग वार्ता तथा छलफल गर्दै आए पनि पहिलो पटक संयुक्त रुपमा छलफल गर्न लागेकी हुन । प्रधानमन्त्री कार्कीले कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा र जनमत पार्टीका नेताहरूलाई छलफलमा बोलाएकी छिन ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार हटेर अहिले कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएको हो । कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गराउने म्यान्डेट पाएको छ ।
निर्वाचनबारे दलसँग छलफल नगरेको भन्दै सरकारको आलोचना भइरहेको बेला प्रधानमन्त्री कार्कीले छलफलका लागि दलहरूलाई बोलाएकी हुन ।


प्रतिक्रिया