देश

भारतबाट अर्बौंको भाइमसला आयात, नरिवल र पिस्ता महँगिँदा अरु सस्तो, बजारको भाउ कस्तो ? (भिडियोसहित)


काठमाडौं— तिहार सुरु भएसँगै काठमाडौंका मुख्य व्यापारिक केन्द्र असन, इन्द्रचोक र सुन्धारामा किनमेल गर्नेहरूको घुइँचो बढेको छ । लक्ष्मीपूजा र भाइटीकाका लागि आवश्यक कोसेली, रङ, बिजुली बत्ती, खाद्यान्न तथा लत्ताकपडाको कारोबार ह्वात्तै बढेको छ । तिहारमा सबैभन्दा महत्त्वपूर्ण मानिने भाइमसलाका लागि प्रयोग हुने सुख्खा फलफूल (ड्राई फ्रुट्स) को आयातमा यसपालि भारी वृद्धि भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार, चालु आर्थिक वर्षको पहिलो दुई महिनामा मात्रै १ अर्ब ८२ करोड रुपैयाँ बराबरको ड्राई फ्रुट्स भित्रिएको छ । विभागका अनुसार गत वर्षको तुलनामा यस वर्ष आयात दोब्बरभन्दा बढी हो । गत आर्थिक वर्ष २०८१–८२ को साउन–भदौमा ७६ करोड १६ लाख रुपैयाँ बराबरको ड्राई फ्रुट्स भित्रिएको थियो भने चालु आर्थिक वर्ष २०८२–८३ को सोही अवधिमा १ अर्ब ८२ करोड रुपैयाँ बराबरको १८ लाख २३ हजार ३८० मेट्रिक टन ड्राई फ्रुट्स भित्रिएको छ । यस वर्ष दसैँ–तिहार केही समय अगाडि परेकाले पनि माग बढेको अनुमान छ । विभागका अनुसार, भाइमसलामा प्रयोग हुने अधिकांश सामग्री स्वदेशमा उत्पादन नहुँदा नेपालीहरू मुख्य चाडपर्वमा समेत विदेशी उत्पादनमा निर्भर रहन बाध्य छन् ।