देश

देउवाले छोड्दा पनि कांग्रेसमा भाँड्भैलो, गगन चेपुवामा परे, हस्ताक्षर खेर जाने भएपछि मच्चियो रडाको (भिडियोसहित)


काठमाडौं— नेपाली कांग्रेसमा अहिले नेतृत्व परिवर्तनको विषय विशेष महाधिवेशनबाट कि नियमित महाधिवेशनबाट भन्ने प्रश्न पेचिलो बन्दै गएको छ । महाधिवेशन कहिले गर्ने भन्ने बहस गर्माएकै बेला सभापति शेरबहादुर देउवाले कार्यवाहक तोकेका पूर्णबहादुर खड्काले तत्कालीन देउवा पक्षको नेतृत्व गरिरहेका छन् । कार्यवाहकको जिम्मा खड्काले पाए पनि हरेक मञ्चमा देउवाको प्रतिनिधित्व गर्दै रमेश लेखक उपस्थित हुने गरेका छन् । यता, गगन थापा र शेखर कोइरालाको पनि छुट्टाछुट्टै गुट हुँदा गगनले विशेष महाधिवेशनका लागि सङ्कलन गरेको हस्ताक्षर बालुवामा पानी खन्याएजस्तै भएको छ । संस्थापन पक्षका दोस्रो तहका नेताले सहजै नेतृत्व छोड्ने सङ्केत नदेखेपछि नेतृत्व लिन हौसिएका गगन एक पटक फेरि चेपुवामा परेका छन् । कांग्रेसभित्र अहिलेको अवस्था आउनुमा भागबन्डाका लागि देउवामाथि दबाब बढाउन मात्र गुट बलियो बनाउने शेखर कोइराला र शशांक कोइरालादेखि युवा विद्रोहको भेउ नपाउने र पाएको पदको महत्त्व नबुझ्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरू पनि उत्तिकै जिम्मेवार छन् । आफ्नो राजनीतिक जीवन नै सङ्कटमा पर्दा देउवाले काँध थापिदिएका पूर्वगृहमन्त्री रमेश लेखक हुन् वा राजनीतिक प्रतिशोधपूर्ण कदम प्रहरी प्रहरी प्रशासन परिचालन गराउने गगन थापाहरू, यो अवस्थाका लागि को जिम्मेवार हो भन्ने प्रश्न उठ्छ । आज नेतृत्व हत्याउन देउवालाई मात्र दोषको भारी बोकाएर, ‘तपाईंका लागि कांग्रेसमा यो नै अन्तिम सम्बोधन हो,’ भन्दै गगनले केन्द्रीय समिति बैठकमा महाधिवेशनका लागि देउवामाथि दबाब बढाएका थिए ।