काठमाडौं— नेपाल सगरमाथाको देश, गोरखाको शौर्य र अहिले क्रिकेटका मैदानमा पनि विश्वलाई चकित पार्ने साहसको प्रतीक । अनि त्यही साहस फेरि एकपटक चम्किएको छ । नेपाल लगातार दोस्रो पटक टी–२० विश्वकपमा पुगेको छ । ओमानमा भएको इस्ट एसिया प्यासिफिक क्वालिफायरमा अपराजित यात्रा गर्दै नेपालले विश्वमञ्चको टिकट हात पारेको हो । पहिलो खेलमै नेपालले आफ्नो तागत देखायो । कुवेतविरुद्ध टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रनको बलियो स्कोर बनायो । नेपालका लागि कुशल भुर्तेल नायक बने । उनले ५६ बलमा ६६ रनको शानदार अर्धशतक प्रहार गरे । तीन चौका, तीन छक्का र अपराजित आत्मविश्वास । नेपालले यही खेलबाट ‘हामी तयार छौं’ भन्ने सन्देश संसारलाई दियो । अर्को खेलको प्रतिद्वन्द्वी जापान । जापानले दिएको १३२ रनको लक्ष्य नेपालले सहजै १८ ओभरमै पाँच विकेट गुमाउँदै पूरा ग¥यो । आशिफ शेखले ३८ रनको योगदान दिए भने युवा बलर गुल्सन झा ब्याटिङ र बल दुबैमा चम्के । २० बलमा २८ रन नटआउट, साथमा २ विकेट पनि । गुल्सनको प्रभावशाली प्रदर्शनले नेपालको जित झन् सजिलो बनायो । तेस्रो खेल कतारसँग थियो र यो खेल रोमाञ्चक भन्दा पनि बढी ‘नर्भस’ बनाउने खालको बन्यो । १ सय ४८ रनको लक्ष्य पछ्याएको कतार अन्तिम ओभरमा जित नजिक पुगेको थियो । तर अन्तिम ओभरको बलिङमा आएका सन्दीप लामिछानेले चमत्कार गरे । केवल ३ रन दिँदै २ विकेट लिए । नेपाललाई पाँच रनको सनसनीपूर्ण जित दिलाए । त्यो क्षणमा सारा नेपालीको मुटु एउटै लयमा धड्किएको थियो, नेपालले जित्यो ! सन्दीप खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
खेलकुद


प्रतिक्रिया