काठमाडौं— भदौ २२ गतेसम्म तारा र सितारा झैं बनेका थिए, शेरबहादुर देउवा र केपी शर्मा ओली । हुन त कांग्रेस–एमालेकै सरकार रहेका बेला २०८१ चैत १२ गते देउवाले भनेका थिए– ओली र म जेलमेट हौँ । हाम्रो सम्बन्ध राम्रो छ ।
भलै देउवा विशुद्ध राजनीतिक मुद्दामा जेल परेका थिए । ओली भने ज्यान मुद्दामा जेल परेको बताइन्छ । यद्यपि, ओलीले भने आफू जेल पर्नुको कारण राजनीतिक आन्दोलन भएको दाबी गर्छन् । जे होस्, ओली र देउवाको राजनीतिक जीवन र उनीहरुका गतिविधिलाई धेरै कोणबाट तुलना गर्न सकिन्छ । तर, अहिलेको अवस्थामा भने जेनजी आन्दोलनपछि को चेते ? को चेतेनन् भन्नेतर्फ तुलना केन्द्रित गर्नुपर्ने भएको छ । त्यो किन भने जेनजी आन्दोलनको लहर आउनुका पछाडि यीनै दुई पात्र देउवा–ओली उत्तिकै जिम्मेवार छन् । सरकारको नेतृत्व गरेकाले ओली धेरै । त्यसपछि परिस्थिति फेरियो, देउवा बर्बर आक्रमणमा पर्दा ओली परेनन् । ओलीले सेनाको सुरक्षा पाउँदा देउवाले पाएनन् । अचानोको चोट कस्तो हुन्छ ? त्यो थाहा पाएका देउवाले आन्दोलनको स्प्रीट बुझेका हुन् वा खुकुरीले अचानोको चोट थाहा नपाएझैं ओलीलाई अझैं पनि आफू बिग्रेको छैन भन्ने लागेको हो । सायद ओली र देउवा दुबै आक्रमणमा परेको भए, वा दुबैलाई सेनाले उद्धार गर्न सकेको भए दुबैको विचार मिल्थ्यो होला । एउटै तहका नेताले दुबै पार्टीको एउटै तहका कमिटीमा बोलेका केही विषय भने समीक्षायोग्य छन् । सायद कम्युनिस्ट र लोकतान्त्रिक विचारबीचको फरक नै यही हुनुपर्छ कि देउवाको अभिव्यक्ति कटाक्ष वा उत्तेजना भन्दा अलिक बढी समीक्षात्मक थियो । तर, ओली त्यसभन्दा ठिक विपरीत, प्रहार गर्न कसैलाई बाँकी राखेनन् ।
देश


प्रतिक्रिया