देश

रास्वपा र माओवादी चुनावमा हौसिए, डराए कांग्रेस एमाले, जेनजीले दल खोल्न सकेनन (भिडियोसहित)


काठमाडौं— देशमा व्याप्त भ्रष्टाचार, बेथिति र आर्थिक असमानताविरुद्ध जेनजी पुस्ताले गरेको विद्रोहले मुलुकको राष्ट्रिय राजनीतिमा नयाँ अध्यायको सुरुवात गरेको छ । गत भदौ २३ गते भएको जेनजी युवाको शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गर्दा १९ जना विद्यार्थी तथा युवाहरूले ज्यान गुमाए । त्यसपछि राज्य दमनबाट आक्रोशित जेनजीलाई समाजका विभिन्न वर्ग र समूहले साथ दिँदा उनीहरूले राज्यका प्रमुख तीन अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका नियन्त्रणमा लिएर ध्वस्त पारे । मुलुकमा प्रजातन्त्र र लोकतन्त्र स्थापना गरेको प्रतिष्ठाका साथ वर्षौंसम्म सरकारमा कब्जा जमाएर बसेका राजनीतिक दलहरूको सत्ता ढल्यो । जेनजी आन्दोलनको म्यान्डेट बोकेर आउने फागुन २१ को प्रतिनिधिसभा निर्वाचन गराउने सर्तसहित गठन भएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारसमेत अलमलमै देखिन्छ ।