काठमाडौं— नजिकिँदै गरेको निर्वाचन र राजनीतिक दलहरुभित्रको नेतृत्व परिवर्तनको विषय पेचिलो बन्दै गएको छ । पार्टीभित्र ‘बा’को उपनामले देवत्वकरण गरिएका केपी शर्मा ओली पनि नेकपा (एमाले)को दुई कार्यकाल अध्यक्ष र तीन पटक प्रधानमन्त्री भइसकेका व्यक्ति हुन् । तेस्रो पटक पार्टी अध्यक्ष र २०८४ पछि शक्तिशाली प्रधानमन्त्री बन्नका लागि विद्या भण्डारीलाई रोक्दै विधान संशोधन गर्न मतियारको भूमिका खेलेका र ओलीको पक्षमा उभिएका नेताहरू नै, ओली सत्ताबाट पछारिएपछि भने सचिवालय बैठकमा विपक्षमा खुलेका छन् । ‘जेन–जी’ विद्रोहपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र अष्टलक्ष्मी शाक्य अहिले ओलीको विपक्षमा स्पष्ट उभिएका छन् । यसअघि ओलीको पक्षमा उभिएका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिवहरू लेखराज भट्ट, पद्मा अर्याल, छबिलाल विश्वकर्मा, लेखराज भट्ट र रघुवीर महासेठ पनि ओलीले पार्टीको नेतृत्वबाट मार्गप्रशस्त गर्नुपर्ने पक्षमा देखिएका छन् । उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली यसअघि नै अध्यक्ष ओलीको पक्षमा थिएनन् । यस्तै, सचिवहरू गोकर्ण विष्ट र योगेश भट्टराई पनि ओलीले मार्ग प्रशस्त गर्नुपर्ने पक्षमा उभिएका छन् । आइतबार रातिसम्म चलेको सचिवालय बैठकमा पाँच पदाधिकारीले त अध्यक्ष ओलीले तत्कालै राजीनामा दिनु पर्ने माग राखेका थिए । अन्य १३ ले तत्काल राजीनामा नमागे पनि नेतृत्वको विकल्प भने खोजेका छन् । मंसिरमा हुने महाधिवेशनमा नेताहरूले ओलीको विकल्प खोजे पनि महाधिवेशनमा ओलीसँग भिड्न एमालेका कोही नेता तयार भएका देखिँदैनन् । “ओलीको विकल्प म हुँ” भनेर कसैले पनि मुख खोल्न सकेका छैनन् ।
देश


प्रतिक्रिया