देश

बीपी राजमार्ग आजदेखि पुनः सञ्चालनमा ल्याउने तयारी


काठमाडौं— बाढीपहिरोका कारण अवरुद्ध बीपी राजमार्ग आजदेखि पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको छ । काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने छोटो र महत्वपूर्ण मार्गका रूपमा रहेको बीपी राजमार्ग असोज १७ र १८ गते आएको अविरल वर्षासँगैको बाढीपहिरोले क्षतिग्रस्त बनेको छ ।

विभिन्न स्थानमा डाइभर्सन बनाएर सडक सञ्चालनको तयारी गरिएको छ । अहिले डाइभर्सन बनाउने र सडक मर्मत गर्ने काम अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सडक डाइभर्सन निर्माण कार्यको अवलोकन गर्दै शुक्रबार साँझसम्ममा यातायात सञ्चालनको वातावरण बनाउन निर्देशन दिनुभएको थियो । मन्त्री घिसिङको निर्देशनपछि रातभर काम भएको हो ।

सडक विभागका अनुसार, हालैको बाढीले बीपी राजमार्गका १६ स्थानका झन्डै ३.५ किलोमिटर डाइभर्सन बगाएको थियो । यस्तै, गत वर्षको बाढीमा क्षतिग्रस्त भएपछि निर्माण गरिएको ५.३ किलोमिटर डाइभर्सन पनि पूर्ण रूपमा नष्ट भएको थियो ।