काठमाडौं— प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा गृहमन्त्री बन्नासाथ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को नेतृत्व परिवर्तन गरेका गृहमन्त्री ओमप्रकाश अर्याल शुक्रबार महाराजगञ्जस्थित सिआईबी कार्यालय पुगेका छन् । उनले एआईजी डा. मनोज केसीको कमान्डमा रहेको सीआईबीको स्थलगत निरीक्षण गरेका हुन् । एआईजी केसी उपत्यका अपराध अनुसन्धान कार्यालयमा रहँदा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्ने प्रमुख प्रहरी अधिकारी हुन् । अन्तरिम सरकारले एकाएक केसीलाई सीआईबी प्रमुख बनाएपछि धेरैले राजनीतिक प्रभावमा बिथोलिएको भुटानी शरणार्थी प्रकरणको फाइल पुनः खुल्ने अपेक्षा गरेका छन् । गृहमन्त्री अर्यालले यसका लागि ‘ग्रिन सिग्नल’ दिइसकेको बुझिएको छ । सीआईबी प्रमुखसहित प्रहरी अधिकारीहरूसँगको छलफलपछि मन्त्री अर्यालले विगतमा राजनीतिक प्रभावमा रोकिएका सबै मुद्दामा ‘ब्रेक थ्रु’ हुने दाबी गरेका छन् । उनले अपराध अनुसन्धानका क्रममा रोकिएका फाइलहरू खुल्ने बताएका छन् । सुशासन पहिलो सर्त भएको बताउँदै गृहमन्त्री अर्यालले नयाँ–पुराना सबै मुद्दाका फाइल खुल्ने र त्यसमा वर्तमान सरकारले कुनै अवरोध नगर्ने स्पष्ट पारे ।
देश


प्रतिक्रिया