देश

गृहमन्त्री अर्यालसँग बालेन रुष्ट ?, सुशीलालाई प्रश्न, जेनजीलाई न्याय खोई ? रवि र नारायणकाजीको खोजी (भिडियोसहित)


काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले अर्थमन्त्री रामेश्वर खनाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी थपिदिँदा ओमप्रकाश अर्याललाई भने कानुन मन्त्रालयको जिम्मेवारीबाट हटाएर गृहमन्त्रालयको मात्रै नेतृत्व सुम्पिएकी छन् । कार्की क्याबिनेटमा भएका मन्त्रीहरूमध्ये काबिल अर्थमन्त्री खनालले प्रत्यक्ष देखिने गरी कामको नतिजा दिन थालिसकेका छन् । तर, आशा गरिएका अर्का गृहमन्त्री अर्यालले भने नागरिकले सोचेअनुरूप परिणाम दिन सकिरहेका छैनन् । मन्त्री अर्यालले प्रहरी संगठनको गिरेको मनोबल फर्काउनु पर्नेछ । नागरिकलाई सुरक्षाको ग्यारेन्टी गर्नुपर्नेछ । भक्तुपरको गुण्डुमा गुण्डाको मार्चपास हुँदा त्रासमा रहेका केपी शर्मा ओलीका छिमेकीलाई घरमै बस्न सक्ने वातावरण बनाउनुपर्नेछ । प्रहरीले जेन–जी आन्दोलनमा प्रहरी चौकी जलाउने र प्रहरीको हत्या गर्नेहरूलाई धमाधम पक्राउ गर्न थालेको छ । तर, जेन–जी आन्दोलनको अपनत्व लिनुपर्ने गृहमन्त्री अर्याल नै निरीह बनेको अनुभूति हुन थालेको छ । यही घटनामा जोडेर एमाले अध्यक्ष ओलीविरुद्ध पनि जाहेरी दिइएको छ । यता, मृतक प्रहरी असई मिलन रायको परिवारले पनि कर्तव्य ज्यानको कसुरमा प्रहरीमा जाहेरी दिएको छ । अब यी घटनाको छानबिन गृहमन्त्री अर्यालले कसरी अगाडि बढाउँछन् र सुल्झाउँछन् भन्ने विषय पेचिलो बनेको छ । तर, यसको जवाफ स्वयम् गृहमन्त्रीसँग पनि छैन । बालेनको कोटामा गृहमन्त्री बनेका अर्याल कानुनका विज्ञ भए पनि गृह प्रशासनको हिसाबमा अपरिपक्व नै हुन् । उनको कामप्रति जेन–जीहरू नै सन्तुष्ट छैनन् ।