देश

गृहमन्त्री अर्यालसँग बालेन रुष्ट ?, सुशीलालाई प्रश्न, जेनजीलाई न्याय खोई ? रवि र नारायणकाजीको खोजी (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले अर्थमन्त्री रामेश्वर खनाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी थपिदिँदा ओमप्रकाश अर्याललाई भने कानुन मन्त्रालयको जिम्मेवारीबाट हटाएर गृहमन्त्रालयको मात्रै नेतृत्व सुम्पिएकी छन् । कार्की क्याबिनेटमा भएका मन्त्रीहरूमध्ये काबिल अर्थमन्त्री खनालले प्रत्यक्ष देखिने गरी कामको नतिजा दिन थालिसकेका छन् । तर, आशा गरिएका अर्का गृहमन्त्री अर्यालले भने नागरिकले सोचेअनुरूप परिणाम दिन सकिरहेका छैनन् । मन्त्री अर्यालले प्रहरी संगठनको गिरेको मनोबल फर्काउनु पर्नेछ । नागरिकलाई सुरक्षाको ग्यारेन्टी गर्नुपर्नेछ । भक्तुपरको गुण्डुमा गुण्डाको मार्चपास हुँदा त्रासमा रहेका केपी शर्मा ओलीका छिमेकीलाई घरमै बस्न सक्ने वातावरण बनाउनुपर्नेछ । प्रहरीले जेन–जी आन्दोलनमा प्रहरी चौकी जलाउने र प्रहरीको हत्या गर्नेहरूलाई धमाधम पक्राउ गर्न थालेको छ । तर, जेन–जी आन्दोलनको अपनत्व लिनुपर्ने गृहमन्त्री अर्याल नै निरीह बनेको अनुभूति हुन थालेको छ । यही घटनामा जोडेर एमाले अध्यक्ष ओलीविरुद्ध पनि जाहेरी दिइएको छ । यता, मृतक प्रहरी असई मिलन रायको परिवारले पनि कर्तव्य ज्यानको कसुरमा प्रहरीमा जाहेरी दिएको छ । अब यी घटनाको छानबिन गृहमन्त्री अर्यालले कसरी अगाडि बढाउँछन् र सुल्झाउँछन् भन्ने विषय पेचिलो बनेको छ । तर, यसको जवाफ स्वयम् गृहमन्त्रीसँग पनि छैन । बालेनको कोटामा गृहमन्त्री बनेका अर्याल कानुनका विज्ञ भए पनि गृह प्रशासनको हिसाबमा अपरिपक्व नै हुन् । उनको कामप्रति जेन–जीहरू नै सन्तुष्ट छैनन् ।