काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो पटक मन्त्रिपरिषद विस्तार गरेकी छन् । आइतबारै मन्त्रिपरिषद विस्तार गर्ने योजनासहित प्रधानमन्त्री कार्कीले पाँच जना मन्त्रीको नाम सिफारिस गरेकी थिइन् । तर, अन्तिम समयमा एक जनाको नाम होल्ड हुँदा सोमबार चार जना नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथ लगत्तै चारै जना मन्त्रीले पदभार ग्रहण गरेका छन् । मन्त्रिपरिषद विस्तारसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, उद्योग, वाणिज्य तथा आपूर्ति र भूमिसुधार मन्त्रीमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, कृषिमन्त्रीमा डा. मदन परियार र सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा पत्रकार जगदीश खरेलले शपथसँगै पदभार ग्रहण गरेका हुन् । यसैबीच, स्वास्थ्य मन्त्रीमा सिफारिस भएकी डा. संगीता कौशल मिश्रा भने मन्त्री बन्ने सूचीबाट बाहिरिएकी छन् । स्वास्थ्यमन्त्री बन्न अतिरिक्त स्वास्थ्य सचिवबाट राजीनामा दिएकी मिश्रामाथि मेडिकल उपकरण खरिद लगायत अनियमितताको अन्य फाइलहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनुसन्धानकै क्रममा छन् । त्यसैगरी, ११औं तहमा नियुक्तिका क्रममा लोकसेवा आयोगमा फर्जी विवरण पेस गरेको आरोप पनि उनीमाथि छ । जसका कारण स्वास्थ्यमन्त्रीमा सिफारिस भएकी उनको नामम अन्तिम समयमा होल्ड गरिएको स्रोतको भनाइ छ ।
देश


प्रतिक्रिया