देश

नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणीको आराधना गरिँदै


काठमाडौं— बडादशैँ अर्थात् नवरात्रको दोस्रो दिन आज नवदुर्गामध्येकी ब्रह्मचारिणीको आराधना गरिँदैछ । नवरात्रमा प्रत्येक दिन भगवती दुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्परा छ ।

तपस्यामा लीन हुने भएकाले दुर्गाको दोस्रो स्वरूपलाई ब्रह्मचारिणी भनिएको हो । कमलको आसनमा बसेकी ब्रह्मचारिणीको दाहिने हातमा अक्षमाला र बायाँ हातमा कमण्डलु रहेको छ । आरोग्य र शान्ति प्राप्तिका लागि ब्रह्मचारिणीको आराधना गरिन्छ ।

नवरात्रका अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा आराधना गरिन्छ । नवरात्रका समयमा जमरा राखिएका दशैंघर तथा शक्तिपीठमा पुगेर देवीको आराधना गर्ने परम्परा छ ।

काठमाडौँको गुह्येश्वरी, संकटा, शोभाभगवती, मैतीदेवी, नक्सालभगवती, सिन्धुपाल्चोकको पाल्चोकभगवती, ललितपुरको बंगलामुखी काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती, बाँकेको बागेश्वरी, गोरखाको मनकामनालगायत शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ ।