समाचार

जेनजी आन्दोलनमा प्रहरीसँग नभएका हतियारले गोली हानिएको छ : केपी शर्मा ओली


काठमाडौं — निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी युवा आन्दोलनमा सहभागीहरुलाई ताकीताकी गोली हान्ने आदेश नदिएको बताएका छन् । संविधान दिवसको दिन वक्तव्य जारी गर्दै आन्दोलनमा गोली हान्ने आदेश नदिएको बताएका हुन् ।

उनले प्रहरीसँग पनि नभएका स्वचालित हतियारले गोली हानेको पाइएको बताएका छन् । भदौ २३ र २४ गते भएको युवा आन्दोलनमा ७४ जनाको मृत्यु भएको थियो, तीमध्ये अधिकांशलाई टाउको र छातीमा गोली लागेको थियो । जेन–जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भएको उनले बताएका छन् ।

प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानिएको भन्दै ओलीले सो घटनाको छानबिन हुनुपर्ने पनि बताएका छन् ।

आन्दोलनपछि सत्ताच्युत भएका ओली सैनिक व्यारेकको ९ दिन लामो बसाइँपछि विहीबार भक्तपुरको गुण्डुस्थित एक घरमा भाडामा बसेका छन् ।