काठमाडौं— २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च ‘कमान्डर’ गणेशमान सिंहको २८औँ स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उदाहरण सिंहलाई धेरैले प्रेरणाको स्रोतको रूपमा लिने गरेका छन् ।
२०४६ सालको जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न आग्रह गर्दा सिंहले समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमुना प्रस्तुत गरेका थिए । १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मिएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको थियो । कम्युनिष्ट पार्टीसँग मिलेर २०४६ सालमा पञ्चायतविरुद्ध जनआन्दोलन गर्दा सिंह सर्वोच्च कमान्डर थिए ।
नेता सिंहको स्मृति दिवसका अवसरमा कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रम आयोजना गरेका छन् ।


प्रतिक्रिया