काठमाडौं — आज वास्तु दिवस एवं विश्वकर्मा पूजा भगवान विश्वकर्माको पूजा आराधना गरी मनाइदै छ । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्मा पूजा पर्व मनाइन्छ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।
कलकारखानालाई विशेष रुपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । आजको दिन कालीगढले प्रयोग गर्ने औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ ।
एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद्हरू बताउँछन् ।


प्रतिक्रिया