समाचार

सुशीलामा नागरिकको आश, चुनाव गराऊ–भ्रष्टाचारीलाई ठेगान लगाऊ, नेताका सम्पत्ति राष्ट्रियकरण (भिडियोसहित)


काठमाडौं — जेनजी प्रदर्शनपछि बनेको अन्तरिम सरकारबाट सर्वसाधारणले सुशासन र भ्रष्टाचार अन्त्यको अपेक्षा गरेका छन् । सुशीला कार्की नेतृत्वमा बनेको सरकारले देशलाई पारदर्शी र जवाफदेही शासन दिनुपर्ने दबाब बढ्दो छ । कार्की नेतृत्वको सरकारसँग नागरिकले विशेषगरी भ्रष्टाचार नियन्त्रण, कालोधनको खोजी र त्यस्ता सम्पत्ति राष्ट्रियकरणको माग गरेका छन् । आन्दोलनपछि जनतामा आशा जागेको छ, अब २०४६ सालपछि भएका सम्पूर्ण भ्रष्टाचार प्रकरणको छानविन हुने नागरिकको अपेक्षा छ । यदि सरकारले न्यायिक आयोग गठन गरेर सबै भ्रष्टाचार प्रकरणको निष्पक्ष छानविन गर्छ भने मात्र नागरिकमा विश्वास कायम हुनेछ । नत्र यो आन्दोलनको बलिदान खेर जाने भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ । आन्दोलनको बलिदानलाई सम्मान गर्दै भ्रष्टाचार अन्त्य, कालोधन नियन्त्रण र सुशासनको सुनिश्चितता गर्ने वा नगर्ने भन्ने कुरा अब सरकारको आचरणले नै देखाउनेछ । भ्रष्टाचार र कालोधनलाई खोजेर राष्ट्रियकरण गर्नुपर्ने जनताको प्रमुख माग छ ।