खेलकुद

भारतका च्याम्पियनलाई नेपालका रवीन्द्रले ढाले, खेल अघि यसरी हेपेका थिए, बझाङका युवाको संघर्षको कथा (भिडियोसहित)


काठमाडौं — ‘हिमालयन लायन, बझाङको बाघ रवीन्द्र ढाँट’ अहिले हरेकको मुखमा यही नाम झुण्डिएको छ । हिजोसम्म केही निश्चित व्यक्तिहरूसामु मात्रै परिचित यो नाम आज प्रत्येक नेपालीले गर्वका साथ लिइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बधाई दिनुको कारण हो, नेपालका मिक्स मार्सल आर्ट (एमएमए) फाइटर रवीन्द्रले शनिबार राति भारतको ग्रेटर नोयडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन १७) मा गरेको दमदार प्रदर्शन । भारतको सबैभन्दा ठूलो एमएमए प्रतियोगितामा भारतीय फाइटर चुनरेङ कोरेनलाई ‘टेक्निकल नक आउट’ गर्दै ‘बान्टमवेट’ च्याम्यिनसिपको टाइटल जित्न सफल भएपछि जताततै रवीन्द्रकै चर्चा छ । यसै टाइटलको दुई पटकका विजेता इण्डियन राइनोजको नामले परिचित कोरेनलाई उसैको घरमा गएर उपाधिमाथि आफ्नो हक जमाएपछि रवीन्द्र वाहवाहीको पात्र बनेका छन् । यो ऐतिहासिक जितसँगै उनी एमएफएनको च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर बनेका छन् । आफ्नो व्यावसायिक रेकर्ड ९–१ मा सुधार गर्दै रवीन्द्रले कोरेनको पाँच लडाइँको जितको श्रृङ्खलालाई भङ्ग गरेका छन् ।