खेलकुद

श्रीलंकाको पोष्टमा नेपालको गोलको वर्षा


काठमाडौं – मिना देउवाको ह्याट्रिकमा नेपालले साफ अण्डर ट्वान्टी महिला च्याम्पियनसिपमा श्रीलंकालाई ७–० गोलको फराकिलो अन्तरमा हराएको छ । नेपालको यो दोस्रो जित हो । तीन खेलबाट नेपालले ६ अंक बनाएको छ ।

बंलादेशको बसुन्धरा किङ्स एरिनामा वर्षाको कारण नियमित समयभन्दा ढिला गरी खेल सुरु भएको थियो । निरिह श्रीलंका विरूद्ध नेपालले गोलको वर्षा नै गरेको हो ।

मिनाले ह्याट्रिक गर्दा पुर्णिमा राईले २ तथा समिक्षा मगर र सरिता कुमारी नाथले १–१ गोल गरे । पहिलो खेलमा भुटानलाई ६–१ गोलले हराएको नेपाल दोस्रो खेलमा आयोजक बंलादेशसँग ३–२ गोल अन्तरले पराजित भएको थियो ।

अब नेपालले बिहीवार श्रीलंकासँग खेल्नेछ । ४ टोलीले एकअर्कासँग २ पटक खेलेपछि शीर्ष टोली च्याम्पियन बन्नेछ ।