काठमाडौं- मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालको नजिक सरेको छ । यसको प्रभावले कोशीदेखि लुम्बिनी प्रदेशसम्मका जिल्लाहरुमा वर्षा हुने पूर्वानुमान गरिएको छ । सुक्खा खडेरीको मारमा परेको मधेश प्रदेशमा समेत हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा आज बिहान वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति मधेश प्रदेशका पूर्वी भूभागमा र भोलि राति पूरै मधेश प्रदेशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
मनसुनको न्यूनचापीय रेखा नेपालनजिक सर्न थालेपछि बाढी पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित ३६ जिल्लामा बाढीको जोखिम रहेको सूचना जारी गरेको छ । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश भई बग्ने साना नदीहरुमा बहाव आकस्मिक रुपमा बढ्न सक्नेतर्फ सचेत गराएको छ ।


प्रतिक्रिया