खेलकुद

महिला टी–२० विश्वकप छनोट : अन्तिम खेलमा नेपालले बहराइनलाई हरायो

योहो संवाददाता

काठमाडौं—कप्तान इन्दु बर्माले आक्रामक ब्याटिङ गर्दै म्याच विनिङ पारी खेलेपछि नेपाल आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा बहराइनसँग हार टारेको छ ।

वर्षाका कारण ७ ओभरमा झारिएको खेलमा ५६ रनको लक्ष्य नेपालले ८ बल अगावै ४ विकेट गुमाएर पूरा ग¥यो । कुनै समय ३.५ ओभरमा २३ रन जोड्दा ४ विकेट गुमाएको नेपालका लागि कप्तान इन्दुले ७ बलमा अविजित २४ रनको पारी खेलिन् ।

उनले पाँचौं ओभरमा लगातार ३ चौका तथा छैटौं ओभरमा १ चौका र १ छक्का बटुल्दै नेपालको जित पक्का गराइन् । त्यसअघि सम्झना खड्का ५, रुबी पोदार १, कविता जोशी शून्य र पुजा महतो १३ रनमा आउट भए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले १२.४ ओभरमा ३ विकेट गुमाएर ७६ रन बनाएपछि वर्षाका कारण खेल रोकिएर पुनः सुरु हुँदा नेपालले ७ ओभरमा ५६ रनको परिमार्जित लक्ष्य पाएको थियो ।

बहराइनले दुवै खेलमा नेपाललाई चुनौती पेश गरेपनि नेपालले जित निकाल्न सफल भयो । अब समूहको अन्तिम खेलमा हङकङ र बहराइन शुक्रबार खेल्ने छन् । उक्त खेलमा हङकङ विजयी भएमा वा वर्षाले खेल नभएमा नेट रनरेटका आधारमा हङकङ सुपर ३ मा पुग्दा नेपाल भने बाहिरिनेछ । नेपाल अघि बढ्न बहराइनले हङकङलाई हराउनु पर्नेछ ।