जर्मनीमा भएको आमचुनावमा क्रिश्चियन डेमोक्रेटिक युनियन (सीडीयू) का नेता फ्रेडरिक मर्जले जित हासिल गरेका छन् । यससँगै जर्मनीमा नयाँ सरकार बनाउने गृहकार्य सुरु भएको छ ।
जर्मन नागरिकले चुनावी नतिजासँगै देशको नेतृत्व परिवर्तन गर्ने इच्छा प्रकट गरेका छन् । निर्वाचन परिणाममा सरकारको नेतृत्व गरिरहेको चान्सलर ओलाफ शोल्जको सोसल डेमोक्रेटिक पार्टी (एसपीडी) तेस्रो स्थानमा धकेलिएको छ । सत्तारुढ दलको हैसियत खस्किँदा विपक्षी दल क्रिश्चियन डेमोक्रेटिक युनियन (सीडीयू) पहिलो स्थानमा उक्लिएको छ । सीडीयू जर्मनीमा कुनै नयाँ पार्टी भने होइन ।
यो सन् १९४५ मा स्थापित ८० वर्ष पुरानो पार्टी हो । यो स्थापना हुँदा दक्षिणपन्थी धारको दल मानिन्थ्यो । अहिले जर्मन राजनीतिमा सीडीयूभन्दा पनि चरम दक्षिणपन्थी दलको उदय भइसकेको छ । यो चुनावमा एएफडी उल्लेखनीय मतसहित दोस्रो स्थानमा आएको छ । सबैभन्दा ठूलो राजनीतिक नोक्सानी उदारवादी धारको एफडीपीले व्यहोरेको छ । यो दलले गत निर्वाचनमा ९१ सिट पाएको थियो भने अहिले शून्यमा झरेको छ । साथै, ५ प्रतिशतको सङ्घीय थ्रेसहोल्ड समेत भेट्न सकेको छैन । सीडीयूको पुनरागमनसँगै फ्रेडरिक मर्ज देशको नयाँ चान्सलर हुने भएका छन् ।
को हुन त फ्रेडरिक मर्ज ?
१९५५ को नोभेम्बर ११ मा जर्मनीको ब्रिलोन शहरमा जन्मिएका मर्ज पेशाले न्यायाधीश हुन् । १९८९ मा युरोपेली संसदमा निर्वाचित भएका मर्ज १९९४ मा जर्मन सांसद बने २००० मा सीडीयू पार्टीको संसदीय दलको नेता बने । तर २००२ मा एन्जेला मर्केललाई पद हस्तान्तरण गर्नुपर्यो । २००५ मा सीडीयू र एसपीडीले गठबन्धन सरकार बनाएपछि उनी राजनीतिमा सीमान्तकृत भए । २००९ मा सक्रिय राजनीति छोडेर कानून र वित्तीय क्षेत्रमा जीवनलाई अगाडि बढाए । २०१८ मा मर्ज पुनः राजनीतिमा फर्किए । एन्जेला मर्केलले अवकाशको घोषणा गरेपछि उनी राजनीतिमा फर्किएका हुन् ।
तर सीडीयूको अध्यक्ष पदका लागि भएकोे चुनाव हारे । २०२० मा फेरि पार्टी अध्यक्षमा लडे । तर यस पटक पार्टीले आर्मिन लास्चेटलाई रोज्यो । २०२१ मा तेस्रो पटक चुनाव लडे र संसदमा फर्किए, तर पार्टीले चुनाव हार्यो । २०२२ मा मर्ज सीडीयूको राष्ट्रिय अध्यक्ष बने ।
मर्जले अवैध आप्रवासीहरूमाथि कठोर अडान राख्दै आएका छन् । उनी जर्मनीको अर्थतन्त्रलाई बलियो बनाउनमा जोड दिइरहेका छन् । तर अब उनको सबैभन्दा ठूलो चुनौती जर्मनीमा सत्ता सम्हाल्न गठबन्धन सरकार गठन गर्नुपर्ने छ । दोस्रो विश्वयुद्धपछि पहिलो पटक जर्मनीमा अतिवादी दक्षिणपन्थी पार्टी सत्तामा आएको हो । वैचारिक मतभेदका कारण नयाँ सरकार गठनका लागि गठबन्धन गर्न मर्जलाई चुनौती हुने अनुमान गरिएको छ ।
यसैबीच मर्जले युरोपेली देशहरूलाई अमेरिकाबारे चेतावनी दिएका छन् । अमेरिका अब युरोपको भविष्यको हिसाबले निकै फेरिइसकेको र युरोप अब यसबाट अलग हुनुपर्ने उनले बताएका छन् । उनले चुनावमा अमेरिकी अधिकारीहरूको हस्तक्षेपको पनि आलोचना गरेका छन् । चुनावमा, ट्रम्प प्रशासन र खर्बपति अमेरिकी व्यापारी तथा ट्रम्प प्रशासनको मुुख्य व्यक्तिसमेत रहेका एलन मस्कले अति–दक्षिणपन्थी पार्टी एएफडीलाई समर्थन गरेको थियो ।
यता रुस–युक्रेन युद्ध शुरु भएको तीन वर्ष पूरा हुँदैछ । यस्तोमा मर्जले युक्रेनबारे पनि प्रतिक्रिया दिएका छन् । युरोपमा जारी तीन वर्षदेखिको युद्धको क्रममा आफूहरुले विनाश र युद्ध अपराधका भयानक तस्बिरहरू देखेको उल्लेख गरेका छन् । अब युक्रेनलाई पहिलेभन्दा बढी बल दिन आवश्यक रहेकोमा जोड दिँदै उनले शान्ति वार्ताका लागि पहल गरिनु पर्ने बताएका छन् । युक्रेनमा शान्ति स्थापना गर्ने हेतुले केही दिन अघिमात्रै साउदी अरबको रियादमा अमेरिकी प्रतिनिधि र रुसी प्रतिनिधिबीच वार्ता भएको थियो । तर सो वार्तामा युक्रेनलाई सहभागी गराइएको थिएन । न त यूरोपेली देशलाई नै निम्तो गरिएको थियो ।
जसका कारण अमेरिका र रुसबीच मात्रै भएको वार्ता सम्झौतालाई आफूले अस्वीकार गर्ने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको भनाइ थियो । फलतः अमेरिका र रुसबीचको वार्ता वार्तामै सीमित हुन पुग्यो । जसको सिंगो युरोपेली मुलुकहरुले समेत आलोचना गरेका थिए । जर्मनीमा मर्जको उदयसँगै समग्र युरोपको भविष्य र जर्मनीको आन्तरिक राजनीतिसमेत यतिबेला चासोको विषय बनेको छ । जर्मनीमा देखिएको पछिल्लो राजनीतिक परिवर्तनले कस्तो प्रभाव पार्छ ? त्यो भने हेर्न बाँकी छ ।।


प्रतिक्रिया